NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

पब्जि खेल्न नदिएपछि आमाको हत्या, दुई दिनसम्म शव घरभित्रै

काठमाडौं । अनलाइन खेल पब्जी खेल्न नदिएपछि भारतमा एक १६ वर्षीय किशोरले गोली हानी आफ्नै आमाको हत्या गरेका छन् । यो घटना लखनउको यमुनापुरम कोलोनीको हो ।

एडिशनल डिसिपी कासिम आबिदीका अनुसार लखनऊको पिजिआई प्रहरी थानाअन्तर्गत पर्ने यमुनापुरम कोलोनीमा एक महिला दुई बच्चासहित बस्थिन् । उनका श्रीमान्‌ सरकारी जागिरको सिलसिलामा पश्चिम बङ्गालमा बस्थे ।’

पब्जीको कुलतमा फसेका ती किशोरलाई उनकी आमाले पब्जी खेल्नबाट रोक्ने गर्थिन् । आइतबार बिहानै उनले आफ्नो बुवाको लाइसेन्स प्राप्त पिस्तोलले आमाको हत्या गरे ।

हत्यामा प्रयोग गरिएको पिस्तोल प्रहरीले बरामद गरेको छ । क्षतविक्षत अवस्थामा महिलाको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पोस्टमोर्टमका लागि शव अस्पताल पठाइएको छ भने किशोरलाई हिरासतमा लिइएको छ । समाचार एजेन्सी पिटिआईका अनुसार नाबालिगले आमाको हत्या गरी उनको शव घरको कोठामा थुनेर राखेको प्रहरीले जनाएको छ । गोली चल्दा बालककी नौ वर्षीया बहिनी पनि थिइन् ।

तर ती किशोरले बहिनीलाई यो कुरा कसैलाई नभन्न धम्की दिएका थिए । आमाको शवबाट निस्कने दुर्गन्धलाई कम गर्न रुम फ्रेसनर प्रयोग गरेको प्रहरीले जनाएको छ ।

मंगलबार शवबाट दुर्गन्ध आउन थालेपछि किशाेरले घटनाबारे बुवालाई जानकारी गराएका थिए । उनका बुवाले छिमेकीलाई भनेपछि प्रहरीलाई खबर गरेका थिए ।

भारतले चीनमा विकसित ११८ वटा मोबाइल एपमाथि दुई वर्षअघि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाइएकामध्ये पब्जी पनि एउटा थियो । तर त्यो प्रतिबन्ध मोबाइलमा चलाउन मिल्ने मात्रै भएकाले डेस्कटपमा भने उपलब्ध थियो ।

ताजा अपडेट

नेपालवाच विशेष