अनुदानको धानको बीउ बिक्री गर्ने सहकारीले रकम फिर्ता गर्ने
पाल्पा । अनुदानको धानको बीउ खरिद गरी महङ्गो मूल्यमा बिक्री गरेको दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था रामपुरले किसानलाई रकम फिर्ता दिने भएको छ । सहकारीले प्रतिकिलो रु ३९ मा रामपुर नगरपालिकाबाट अनुदानमा खरिद गरी ल्याएको धानको बीउ रु ४५ मा किसानलाई बिक्री गरेको थियो ।
‘अनुदानको धानको बीउ महङ्गो मूल्यमा किसानलाई वितरण’ शीर्षक समाचार प्रकाशनपछि सहकारीको सञ्चालक समितिको शुक्रवार बसेको बैठकले विविध कारणले गर्दा उठाइएको रकम फिर्ता दिने निर्णय गरिएको छ ।
प्रतिकिलो रु दुई ढुवानी खर्च मात्रै लिने, धान वितरणमा परिचालित कर्मचारी खाजा खर्च, भण्डारण खर्च सबै सहकारीले व्यहोर्ने गरी चार रुपैयाँ फिर्ता गर्ने निर्णय भएको सहकारीका अध्यक्ष भेषबहादुर वंशीले बताए । उनले भने, “प्रतिकिलो रु ३९ मा अनुदानमा खरिद गरेर ल्याइएको बीउ रु ४५ मा सहकारीले विक्री गरेका हौँ, समितिको बैठक बसेर रु दुई मात्रै लिने र बाँकी प्रतिकिलोमा रु चार किसानको खातामा नै सहकारीले जम्मा गर्ने निर्णय भएको छ ।’
सहकारीले ढुवानी, भण्डारण खर्च, धान वितरणमा परिचालित जनशक्तिलाई खाजा खर्च, खुल्ला धान विक्री गर्दा पैसा फिर्ता गर्न झण्झटजस्ता कारण देखाउँदै प्रतिकिलोमै रु छ नाफा लिएर बीउ वितरण गरेको हो ।
किसानलाई सहुलियतमा वितरण गर्न ल्याइएको अनुदानको बीउ बढी मुल्यमा बिक्री गरेको थाहा पाएपछि रामपुर नगरपालिकाले लिखित पत्र सहकारीलाई बुझाएपश्चात् रकम फिर्ता दिने भएको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउँछन् ।
रामपुर नगरपालिकाले नेपाल सरकारले तोकेको मूल्यका आधारमा प्रतिकिलो रु ७८ पर्ने धानलाई ५० प्रतिशत अनुदानमा रु ३९ मा घर संसार वितरक फार्मबाट वितरणका लागि अनुमति दिई कृषि सहकारी, समुह र कृषकलाई वितरण गरेको जनाइएको छ । सो सहकारीलाई नगरपालिकाले पाँच हजार ५०० किलो बीउ उपलब्ध गराएको हो । नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिव २६ टन बीउ वितरण गरिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया