NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्ने

चितवन । विज्ञहरुले उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्नेमा जोड दिएका छन् । अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भइनसकेका कारण आँखा परीक्षण गराउनुपर्ने उनीहरुले सुझाएका हुन् ।

रेटिना विज्ञ डा संयम बजिमयले सातदेखि आठ महिनामा एक दशमलव पाँच किलोग्रामभन्दा कम तौल भएका शिशुको अनिवार्य आँखा परीक्षण गराउनुपर्ने बताएका छन् । त्यस्ता शिशुको समयमा आँखाको परीक्षण नभएमा अन्धो पनि हुन सक्ने उनको भनाइ थियो ।

समय पुगेर जन्मिएका शिशुको पनि ६ महिनभित्र आँखा परीक्षण गराउनुपर्ने उनलेले बताए । नवजात शिशुमा बंशाणुगत रोग हुनसक्ने भन्दै डा बजिमयले समयमै उपचार पाएमा समस्या नहुने उल्लेख गरे ।पहिले पहिले कम तौलका शिशुहरुको उपचार कठिन थियो तर अहिले प्रविधिको विकास र जनशक्तिको व्यवस्थाले कम तौलका शिशुलाई बचाउन सकिएको छ ।

भरतपुर अस्पतालको बाल सघन उपचार कक्ष (एनआईसियु) का प्रमुख तथा बरिष्ठ बाल रोग विशेषज्ञ डा ओमकृष्ण पाठकले अहिले कम तौलका शिशुलाई पनि उपचार गरेर बचाउन सकिएको बताए।

त्यस्ता शिशुको शरीरका अङ्ग कमजोर हुने जानकारी दिँदै उनले भने “रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी प्रमुख समस्या हुने गरेको छ ।”बालसघन उपचार कक्षमा राखेर अक्सिजन दिइएका, सङ्क्रमण भएका, जन्मदा कृत्रिम श्वासप्रश्वास दिनुपरेका, लामो समय सिप्याप र भेन्टिलेटरमा राखेर उपचार गरिएका शिशुलाई आँखामा समस्या आउने डा पाठकको भनाइ थियो ।

सकेसम्म यसरी उपचार गर्नुपर्दा कम अक्सिजन दिने प्रयास गरिने भन्दै उनले आँखा स्क्रिनिङ गर्न सुझाव दिए ।शिशुको आँखाको समयमा उपचार हुन नसकेमा अन्धोपन हुन सक्ने र त्यस्ता शिशुलाई तीन चार हप्तामा आँखाको परीक्षण गराउन डा पाठकले सुझाव दिए। चितवन मेडिकल कलेजमा क्रिटिकल केयर हेर्दै आएका बाल रोग विशेषज्ञ डा विराज पराजुलीले ३७ हप्ता अघि जन्मिएका शिशुको शरीरले पूर्णता नपाउने बताए ।

त्यस्ता शिशुको आँखाको रेटिना विकास नहुँदै अक्सिजन दिनुपर्ने अवस्था आयो भने र सङ्क्रमण भयो भने आँखामा समस्या आउने उनले सुझाए । उपचार गर्दा यी कुरामा ध्यान दिनुपर्ने भए पनि आँखाको परीक्षण भने गर्नै पर्ने डा पराजुलीको तर्क थियो ।
३७ हप्ताभन्दा कम समयमा जन्मिएका र ३० दिनभित्रै अक्सिन दिनुपर्ने र सङ्क्रमण भएका शिशुको आँखामा जोखिम बढी हुनसक्छ ।

भरतपुर आँखा अस्पतालका बाल नेत्ररोग विशेषज्ञ डा मनिषा श्रेष्ठले कम उमेरमा जन्मिएका शिशुको कम तौल हुने र उनीहरुमा विशेष प्रकारको समस्या आउने बताइन् । आँखाको पर्दामा असर देखिने भन्दै उनले रेटिनोप्याथी अफ प्रिम्याच्युरिटीको सम्भावना धेरै हुने बताइन् । डा श्रेष्ठले भनीन् “समयमा उपचार पाएमा उनीहरु अन्धो हुनबाट जोगिन्छन् ।

भरतपुर आँखा अस्पतालमा यसप्रकारको समस्या लिएर प्रत्येक महिना पाँच जनाको हाराहारीमा बिरामी आउने गरेको डा श्रेष्ठको भनाइ थियो । दैनिक बहिरङ्ग सेवामा एक सय हाराहारी शिशु उपचारका लागि आउने गर्दछन् । तीमध्ये पाँच जनालाई समस्या नै हुने गरेको छ । भरतपुर आँखा अस्पताल र यसका सेवा केन्द्रमा आँखाको उपचार हुने भएकाले यस्ता शिशुलाई समयमै उपचार गर्न उनले सुझाव दिइन् ।

सुरुको समयमा सामान्य परीक्षण गरेमा निको हुने भए पनि समय–समयमा उपचार नगर्दा जटिल समस्या आउने भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीले अभिभावकलाई आँखाको परीक्षण गराउनुपर्छ भन्ने विषयमा सचेतना जगाउने गरी काम गर्नुपर्ने र अन्य बालबालिकाको पनि समय समयमा आँखाको परीक्षण गराउनु पर्नेमा सुझाव दिइएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष