NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

महतको निर्वाचन क्षेत्रमा कांग्रेसबाट वाग्ले उठ्दै !

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारको पक्षमा चुनावी नतिजा आएपछि आगामी संघीय र प्रदेशसभा निर्वाचनमा पनि स्वतन्त्र व्यक्तिहरूले पनि उम्मेदवारमा आकांक्षा देखाउन थालेका छन् ।

काठमाडौं, धरान, धनगढीलगायत स्थानमा स्वतन्त्रका उम्मेवारले राजनीतिक दलका उम्मेदवारलाई लोकप्रिय मतान्तरले पराजित गरेपछिको चुनावमा अरुले पनि उम्मेदवारका आकांक्षा राख्न थालेका हुन् ।

महानगर काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरसहित कांग्रेस, एमालेका उम्मेदवारलाई पराजित गरी निकै चर्चा कमाए । शाहको उदयपछि आगामी संघीय निर्वाचनमा स्वतन्त्र भूमिकामा रहेका पूर्वप्रशासक, सामाजिक अभियान्ता, कलाकार, अर्थविद् लगायतहरू धेरैले चासो देखाएका हुन् ।

काठमाडौंबाट निर्वाचन लड्नेमा पूर्वक्रान्तिकारी विद्यार्थी नेता मानुषी यमीदेखि पूर्वआइजिपी सर्वेन्द्र खनालसम्मले चासो देखाएका छन् । त्यही भीडमा अर्का अर्थविद् डा. स्वर्णिम वाग्ले थपिएका छन् ।

सरकारले आगामी कात्तिक र मंसिरमा संघीय निर्वाचन मिति घोषणाको तयारी गरिरहँदा चुनाव लड्नैका लागि वाग्लेले युएनडिपी एसिया प्यासेफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिएका छन् । कांग्रेस शीर्ष नेताका सहमतिमा गत असारमा वाग्ले अमेरिकाको न्यूयोर्कस्थित प्रधान कार्यलयमा नियुक्ति लिएर गएका थिए ।

वाग्लेलाई आगामी निर्वाचनमा कांग्रेसले काठमाडौंको ५, चितवन वा गोरखाबाट चुनाव लडाउने तयारी गरेको छ । गत निर्वाचनमा काठमाडौं ५ मा कांग्रेसका डा. प्रकाशशरण महत एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए । काठमाडौंको कोर एरियाभन्दा बाहिर लाजिम्पाटदेखि बुढानिलकण्ठसम्मको क्षेत्र यो निर्वाचन क्षेत्रमा पर्छ । कोर एरिया बाहिरको एरिया भएकोले पनि यसपटक धेरैले काठमाडौं ५ बाट चुनाव उठ्ने तयारी गरेका छन् ।

वाग्ले सुशील कोइराला नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगका सदस्य भएर काम गरेका थिए । प्रचण्ड नेतृत्वको दोस्रो कार्यकालमासमेत उनी आयोगका सदस्य थिए । उनले ०७०, ०७४ र ०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसको घोषणापत्र बनाउन भूमिका खेलेका थिए ।