NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

इँटाभट्टामा जिउँदै मान्छे जलाउने कांग्रेस नेता आलमका भाइ अझै आपराधिक गतिविधिमा सक्रिय

काठमाडौं । जिउँदै इँटाभट्टामा मान्छे जलाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अफताब आलमका भाइ मोहम्मद मेहताब कारागारभित्रैबाट पनि आपराधिक गतिविधि गरिरहेका छन् । उनले रौतहटका एमाले नेता किरण साहलाई ज्यान मार्ने धम्की दिएको खुलासापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । साह मेहताबविरुद्धको मुद्दाका साक्षीको पक्षमा बोल्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी निरीक्षक विन्देश्वर यादवको नेतृत्वमा पाँचजनाको विशेष समिति गठन गरेको यसबारे अनुसन्धान गरिरहेको छ । एमाले नेता साहले मेहताबबाट ज्यान मार्ने धम्की आएको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो । प्रहरीले साहको सुरक्षाका लागि बडीगार्डसमेत खटाएको छ ।

रौतहटका एसपी विनोद घिमिरेले ज्यान मार्ने धम्की दिएको घटना बाहिरिएपछि अनुसन्धान सुरु गरिएको बताए । ‘मेहताब गौरस्थित कारागारमा छन् । उनले जेलभित्रैबाट ज्यान मार्ने षड्यन्त्र गरेको भन्दै हामीकहाँ निवेदन आएको छ । यसमा हामी संवेदनशील छौँ । घटनाको अनुसन्धान सुरु भइसकेको छ । केही दिनभित्रै तथ्य बाहिर आउला,’ उनले भने ।

साहले २७ चैत ०६४ मा रौटहटको राजापुरमा भएको विस्फोटका साक्षीको पक्षमा बोल्दै आएका छन् । निर्वाचन प्रभावित पार्ने उद्देश्यसहित आलमले बम बनाइरहेको ठाउँमा अघिल्लो साँझ विस्फोट भएको थियो । विस्फोटमा परी स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तरसहित अन्य युवाको समेत मृत्यु भएको थियो । सोही घटनाका अभियुक्तमध्येका एक हुन्– मेहताब । जिप्रका रौतहटमा परेको निवेदनअनुसार मेहताबले साहलाई मार्न जेलभित्रै कैद सजाय भुक्तान गरिरहेका नन्दु साह, छोटेलाल साह र सुरेन्द्र बैठालाई अह्राएका थिए ।

सोही घटनापछि सुरेन्द्रले जेलभित्रकै दुईवटा मोबाइल नम्बर प्रयोग गरी ज्यानको सुरक्षा गर्न भन्दै साहलाई फोन गरेका थिए । घटना लिक गरेको थाहा पाएपछि मेहताबले जेलभित्रकै अन्य कैदीबन्दी प्रयोग गरी छोटेलाललाई निर्घात कुटपिटसमेत गरेका थिए । घाइते छोटेलालको उपचार गर्न उनकी श्रीमतीले जिप्रका रौतहटमा निवेदनसमेत दिएकी थिइन् ।

छोटेलालको मंगलबार अस्पताल लगी उपचार हुने भएको साहले नयाँ पत्रिकासँग भने । ‘मेहताबले मेरो ज्यान मार्न जेलभित्रै कैदीबन्दीलाई सुपारी दिएको मैले थाहा पाएँ । यस विषयमा जेलभित्रकै एक कैदीबन्दीले मलाई टेलिफोन गरे,’ उनले भने, ‘जसको रेकर्ड मसँग अझै छ । खबर लिक गरेको अभियोगमा मेहताबले एकजनालाई निर्घात कुटपिट गरेछ । त्योसमेत गोप्य राखिएको रहेछ । उनकी श्रीमतीको निवेदनपछि उनको उपचार हुने भएको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष