NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

ट्रिनिटी कलेजका सुरक्षागार्डमाथि खुकुरी प्रहार

काठमाडौं । काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजका एक सुरक्षा कर्मचारीमाथि खुकुरी प्रहार भएको छ । घटनालगत्तै प्रहरीले यसमा संलग्नको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो दुई पक्षबीच भएको झडप नियन्त्रणको प्रयासमा खटिएका कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको हो ।

कानमुनि चोट लागेका सुरक्षा गार्डलाई मोडेल अस्पताल भर्ना गरिएको थियो । अवस्था सुधारोन्मुख भएपछि उनलाई डिस्चार्ज गरिएको छ ।

१० दिनअघिको बास्केटबल प्रतियोगिताका क्रममा भएको मनमुटावले मंगलबार दिउँसो दुई पक्षबीच झडप भएको थियो । तनावपछि कलेका सुरक्षागार्डले नियन्त्रणको प्रयास गरेका थिए । त्यही क्रममा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले घटनामा संलग्नको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू सबै कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् ।  संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।