NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

विश्वप्रकाश भन्छन् : एसपीपी हामीलाई स्वीकार्य छैन, अमेरिकालाई प्रष्ट भन्नुपर्छ ‘नो थ्याङक्स’

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामरिक सहकार्यको रणनीतिक प्रस्ताव स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार्य भएको बताएका छन् । समुन्नतिका लागि सबैको सहयोग स्वीकार्य रहेको भन्दै शर्माले सामरिक सहकार्यको रणनीतिक प्रस्तावबारे अमेरिकालाई नो थ्याङक्स भन्नुपर्ने बताएका हुन् ।

‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ–नो थ्याङक्स । एसपिपी हामीलाई स्वीकार्य छैन ! कांग्रेसको धारणा यही बन्नेछ र कांग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ । हामी साझा ढंगले प्रष्ट छौं–समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव
सदैव अस्वीकार्य ! जय नेपाल !’

सैन्य मामिला जोडिएको यो कार्यक्रम विवादमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकमा राष्ट्रहित नहुने कुनै पनि सहमति र सम्झौता नगरिने प्रष्ट्याएका छन् । एसपीपीबारे सरकारलाई विवादित बनाउने काम भएको प्रधानमन्त्रीको भनाई छ ।

त्यस्तै संसद बैठकमा सांसदहरूले प्रश्न उठाएपछि कानुनमन्त्री गोविन्द बन्दीले यस्तो सहमतिका लागि कसैले प्रस्ताव नै नगरेको दाबी गरेका थिए । हचुवाको भरमा सम्झौता हुन लाग्यो भनेर अनर्गल प्रचार गरिएको उनको भनाई थियो ।

संसदमा कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले पनि सैन्य विषय जोडिएको एसपीपी हामीलाई मान्य छैन भनेर प्रधानमन्त्रीले संसदमै उभिएर बोल्नपर्ने माग गरेका थिए ।