भारतभरि विरोध भइरहेको अग्निपथ योजना के हो ?

काठमाडौं । भारत सरकारले ल्याएको अग्निपथ योजनाको देशभर युवाहरुले हिंसात्मक विरोध प्रदर्शन गरेका छन् । विशेषगरी बिहार र उत्तर प्रदेशमा प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।
उत्तर प्रदेश र बिहारमा धेरै सवारी साधनमा आगजनी गरिएको छ । यी दुई राज्यमा यो लगातार तेस्रो दिन गरिएको विरोध प्रदर्शन हो ।
उत्तर प्रदेशको बलिया जिल्लामा केही मानिसहरू भेला भएर रेलवे स्टेशनमा प्रवेश गरे र रेलमा तोडफोड गरेका छन् । यसले रेलवे स्टेशनमा क्षति पुगेको छ । बिहार र उत्तर प्रदेश बाहेक मध्य प्रदेश र हरियाणामा पनि प्रदर्शन भइरहेको छ ।
त्यस्तै, विभिन्न राज्यमा नेताहरुको निवास घेराउ र प्रहरीसँगका झडप भइरहेका छन् । बिहारमा धेरै रेलमा आगजनी गरिएको छ । विराेध प्रदर्शनमा उत्रिएका दर्जनाैं पक्राउ परेका छन् ।
जुन १४ मा केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले यो योजना घोषणा गरेका थिए । याेजना घाेषणा भएकाे भाेलिपल्टदेखि युवाहरू विराेध प्रदर्शनमा उत्रिएका हुन् ।
योजनाअन्तर्गत साढे १७ वर्षदेखि २१ वर्षसम्मका युवाले छोटो अवधिका लागि सेनामा सेवा गर्ने अवसर पाउनेछन् । सेनामा भर्ना हुने युवाको सेवा अवधि ४ वर्षको हुनेछ । तर, कुल भर्तीको २५ प्रतिशतमात्रै नियमित सेवामा लगिनेछ ।
सेनामा भर्ती हुनका लागि शैक्षिक योग्यता १० वा १२ उत्तीर्ण भएको हुनुपर्ने, पहिलो वर्षको मासिक तलब ३० हजार र चौथो वर्षमा ४० हजार भारु हुने, चार वर्षको सेवा गरेपछि कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ट २५ प्रतिशतले मात्रै निरन्तर सेनामा सेवा गर्न पाउने नियम बनाइएको छ । बाँकी ७५ प्रतिशतले अवकासपछि पेन्सन पाउने छैनन् ।
भारतीय सेनाको जल, स्थल र वायु गरी तीन वटै अंगको जवान पदका लागि ल्याएकाे अग्निपथ योजनाअन्तर्गत करिब ४० हजार युवालाई ९० दिनभित्र छनोट गरी ६ महिनाको तालिम दिइनेछ । ‘अग्निपथ’ योजना अन्तर्गत भर्ना भएकालाई सेनालाई ‘अग्निवीर’ भनिनेछ ।
यस याेजनाकाे विराेध भएपछि सरकारले उमेरकाे हदम्याद बढाएर २१ बाट २३ पुर्याएकाे छ । सेनाका तीनवटै मुख्य अधिकारीले भने सरकारी याेजनाकाे स्वागत गरेका छन् ।
नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको यस योजनाको विपक्षी पार्टीले विरोध गरिरहेको छ ।
कोरोना महामारीका कारण भारतीय सेनामा दुई वर्षदेखि भर्ना प्रक्रिया रोकिएको छ । वर्षेनी ६० हजार जवान भर्ती हुँदै आएको सेनामा यसपटक लाखौं युवा भर्ना हुने समय कुरेर बसेको बेला सरकारले अकस्मात अग्निपथ योजना ल्याएपछि विरोध चर्किएको हो ।
प्रतिक्रिया