NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

मन्त्रीको आरोप– जनयुद्धमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने फाइल लुकाइयो

काभ्रे । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले १० वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा ज्यान गुमाएका व्यक्तिलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका छन् ।

राष्ट्रिय युवा परिषद्अन्तर्गतको सहिद तथा बेपत्ता योद्धा सन्तती युवा सञ्जालद्वारा काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री अथकले समाज रुपान्तरणका लागि ज्यानको आहुती दिने सबैलाई राष्ट्रिय सहिदका रुपमा सम्मान दिनुपर्ने बताए ।

सहिद तथा बेपत्ता परिवारका युवा लक्षित नेतृत्व एवं क्षमता विकाससम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री गहतराजले अथकले व्यवस्था परिवर्तनका लागि आफ्नो जीवनको बलिदान दिने महान सहिद तथा बेपत्ता योद्धाहरुकै कारण नेपालमा गणतन्त्र स्थापना भएको उल्लेख गरे

लामो संघर्षपछि प्राप्त व्यवस्था उल्टाउन पछिल्लो समय भित्री तथा बाहिरी तत्व लागि परेको उल्लेख गर्दै उनले अथक प्रयासले प्राप्त सम्पूर्ण उपलब्धि जोगाउने जिम्मेवारी युवाहरुको काँधमा आएको बताए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री हुने बेला नै जनयुद्ध तथा जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरे पनि हालसम्म उक्त निर्णय लुकाइएको भन्दै उनले वर्तमान सरकारले नै उक्त निर्णय प्रक्रियालाई पूर्णता दिने प्रष्ट पारे ।

आफ्ना पुर्खाले जीवन त्यागेर दिलाएको उपलब्धिप्रति युवाहरुले गर्व गर्न सक्नुपर्ने मन्त्री गहतराजको भनाइ थियो । उनले सहिद तथा बेपत्ता योद्धा सन्तती युवा सञ्जाललाई सबैको साझा सञ्जालका रुपमा विकास गर्दै नेपालमा भएका सबै संघर्षका घाइते, अपाङ्ग तथा तिनका सन्ततीहरुलाई गोलबद्ध गर्न सुझाव दिए । सहिद तथा बेपत्ता योद्धा सन्तती युवा सञ्जालका अध्यक्ष आरती शर्माको अध्यक्षतामा सञ्चालन गरिएको कार्यशाला गोष्ठीमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतलगायत विभिन्न जिल्लाबाट उपस्थित २५ बढी युवाको सहभागिता रहेको थियो ।