उपत्यकामा हैजा फैलिन सक्ने जनस्वास्थ्य संघकाे चेतावनी

काठमाडौं । नेपाल जनस्वास्थ्य संघले काठमाडौं उपत्यकामा हैजाको महामारी फैलिएको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
संघले आइतबार एक विज्ञप्ति जारी गरी हैजाको महामारीबाट धेरै व्यक्तिलाई एकैपटक संक्रमण भई ज्यान जान सक्ने भएकाले यसबाट सुरक्षित हुन स्वच्छ पानी तथा व्यक्तिगत सरसफाईको व्यवस्थापन जरुरी भएको जनाएको छ ।
संघले उक्त रोगको संक्रमण रोक्न यसबारे अनुसन्धान तत्काल सुरु गरी रोगको कारक तत्व पत्ता लगाई तत्काल जनचेतनामुलक रोकथामका उपाय अवलम्बन गर्न सरकारसँग अनुरोध गरेको छ ।
साथै संघले सरकारलाई सरोकारवाला तथा संघसस्थासँग समन्वय गरी कार्य गर्नसमेत आग्रह गरेको छ ।
संघले नेपाल सरकार तथा सरकारका निकाय समक्ष हैजा फैलन सक्ने कारक तत्वको नियन्त्रण गर्न उपत्यकाको खानेपानी, बजारको जार तथा बोतलका पानीको नमुना परीक्षण गर्न तथा होटल, रेष्टुरेन्ट तथा बजारमा पाइने खानेकुराको गुणस्तर नियन्त्रण गर्न तथा उपत्यकाका फोहोरको अबिलम्ब व्यवस्थापन गर्नसमेत माग गरेको छ ।
प्रतिक्रिया