NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पर्यटनमन्त्री आलेलाई बर्खास्त गर्न पर्यटन व्यवसायीको संयुक्त माग

काठमाडौं । पर्यटन व्यवसायीहरूले संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको बर्खास्तीका लागि संयुक्त माग गरेका छन् ।

सोमबार पर्यटनसँग सम्बद्ध संस्थाहरू नेपाल पर्यटन व्यवसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन नेपाल र राष्ट्रिय पर्यटन व्यवसायीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री आलेको बर्खास्तीको माग गरेका हुन् । मन्त्रीजस्तो गरिमामय पदमा आसिन भएपनि विगतदेखि आलेले प्रदर्शन गर्दै आएका व्यवहार र क्रियाकलाप अमर्यादित भएको व्यवसायीहरूको आरोप छ ।

संस्कृति मन्त्रालयको अतिथि देवो भवः नाराको मुख्य मर्मलाई उनले कायम राख्न नसकेको विज्ञप्तिमा उल्लेख छ ।

आलेको पछिल्लो हर्कतले उनलाई इतिहासकै बदनाम मन्त्री बनाएको व्यवसायीहरूको आरोप छ । उनले सर्वसाधारणदेखि आफ्नै मातहतका कर्मचारीमाथि बोलेका शब्द, गुन्डागर्दी, कार्यकर्तालाई जागिरमा भर्ती गराउनेजस्ता कार्यले बदनाम बनाएको व्यवसायीहरूको निष्कर्ष छ । पछिल्लो समय मन्त्री आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई उनले गरेको गालीगलौज र हातपातका घटनाले गर्दा निजी क्षेत्रले शिर निहुराउनु परेको विज्ञप्तिमा जनाइएको छ ।

‘समाजलाई सुसंस्कृत र असल आचरण सिकाउनुपर्ने मन्त्रीबाटै देखिने गरेका यस्ता अश्लील र अराजक अभिव्यक्ति र गुन्डागर्दीको व्यवहार सभ्य समाजका लागि स्वीकार्य हुनै सक्दैन,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो सँगै व्यवसायीहरूले आलेका अन्य कार्यमाथि पनि आपत्ति जनाएका छन् । मन्त्री आले अध्यक्ष रहेको लुम्बिनी विकास कोषको गुरुयोजनाअनुसार आध्यात्मिक अभ्यासका लागि छुट्याइएको लुम्बिनी ग्रामको चार विघा क्षेत्रलाई मन परेको व्यवसायी कम्पनीलाई दिएको उनीहरूको आरोप छ । उक्त कम्पनीलाई कुनै प्रक्रिया नपुर्याइ सिधै प्रस्ताव माग गरी व्यावसायिक रिसोर्टको अनुमतिको ठाडो आदेश दिएकोप्रति उनीहरूले विरोध गरेका छन् ।