NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

तनहुँमा २५ शैयाको कोभिड अस्पताल बन्ने

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा २५ शैयाको कोभिड अस्पताल निर्माण कार्य सुरु गरिएको छ । नगरपालिकाको एक करोड ५४ लाख रुपैयाँको लागतमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।

बोलपत्रपश्चात् आधारभूत स्वास्थ्य केन्द्र भवन नजिकै रहेको करिब दुई रोपनी सार्वजनिक जग्गामा अस्पताल निर्माण कार्य अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

२०७८ माघ १० गते सम्झौता गरे पनि निर्माण कार्य भर्खरै सुरु गरिएको हो । उक्त निर्माण कम्पनीले उक्त अस्पताल आठ महिनामा सक्ने गरी सम्झौता गरिए पनि निर्माण व्यवसायीको लापर्बाहीका कारण ढिलाइ हुन गएको व्यासका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । काम नगरी आलटाल गर्दै आएकाले कालोसूचीमा राख्ने बताएपछि बल्ल काम सुरु गरेको उनले बताए ।

दमौली अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाइएकाले उक्त अस्पताललाई नगरस्तरीय अस्पतालको रुपमा निर्माण गर्न लागिएको व्यासनगर कोभिड अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।

भवनको पिल्लर उठाएर नयाँ प्रविधिको फाउण्डेशसन फाइवर जिव्सनको छाना राखेर बनाइने उनले बताएका छन् । कोभिड अस्पताल निर्माणपछि कोभिडका बिरामीलाई राखेर उपचार गर्न सहज हुने विश्वास गरिएको छ । (रासस)