कांग्रेसमा पनि नयाँ मन्त्रीको खोजी ! को–को छन् आकांक्षी ?

काठमाडौं । ‘नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारका सांसदलाई मन्त्री बनाउने माग व्यापक छ ।’ जेठ २३ मा कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले संसद् भवनबाट बाहिरिँदैगर्दा दिएको यो अभिव्यक्तिले कांग्रेसमा पनि मन्त्री फेरिनुपर्ने माग रहेको प्रष्टै झल्काउँछ ।
नेकपा (एकीकृत समाजवादी)मा मन्त्री फेरिने भएपछि कांग्रेसका युवा नेता थापाले कांग्रेसमा पनि नयाँ अनुहारका सांसदलाई मन्त्री बनाउनुपर्ने विषय उठेको बताएका थिए । तर एकीकृत समाजवादीको तर्फबाट सोमबार मन्त्री परिवर्तन हुँदा कांग्रेसबाट परिवर्तन गरिएनन् ।
कांग्रेसले यसअघि नै केही मन्त्री हेरफेर गर्दै आएको छ । यसैले तत्काल नयाँलाई अवसर दिने सोच प्रधानमन्त्रीको नरहेको बताइन्छ । तर कतिपय व्यवहारिक विषय मिलाउनुपरे केही मन्त्रीको मन्त्रालय भने हेरफेर हुन सक्ने बताइन्छ
पार्टीबाट मन्त्री बन्न धेरैको आकांक्षा भए पनि कांग्रेसले तत्काल परिवर्तन गर्ने जस्तो मनस्थिति बनाएको देखिँदैन ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिवर्तन गर्ने सोच नराखेको बताइन्छ ।
‘मन्त्री हुने सोच सबैको हुनसक्छ । तर सभापति टसको मस हुनुभएको छैन । मन्त्री परिवर्तन गर्ने भन्नेबित्तिकै एकसेएक दाबेदार निस्कनुहुन्छ,’ कांग्रेस नेता मीन विश्वकर्मा भन्छन्, ‘प्रधानमन्त्रीलाई मन्त्री फेरबदलको कुरा लिएर जाँदा अहिले कहाँ भन्नुहुन्छ ।’
मन्त्री परिवर्तन किन चाहँदैनन् देउवा ?
प्रधानमन्त्री देउवाले अहिलेकै मन्त्रिपरिषद्को सहयोगमा स्थानीय तहको निर्वाचन गराएका छन् । जसमा कांग्रेसलाई पहिलो दल बनाएर देउवा सफल पनि भएका छन् । ६ महिनापछि फेरि संघीय संसद् र प्रदेशको निर्वाचन गराउने तयारीमा देउवा छन् । यसैले निर्वाचन गराउन भूमिका खेलेका मन्त्री परिवर्तन गरेर अर्को टिम ल्याउँदा उनीहरूले अर्को चुनावमा प्रभावकारी समन्वय गर्न नसक्ने बुझाइ देउवाको भएको नेता रामहरि खतिवडा बताउँछन् ।
‘धाँधलीरहित निष्पक्ष रुपमा चुनाव भएको छ । चुनाव गराउन प्रत्यक्ष जोडिएका मन्त्रीलाई फेर्ने कुरा प्रधानमन्त्रीका लागि राम्रो हुँदैन,’ खतिवडा भन्छन्, ‘एउटा परिवर्तन गर्दा अर्को रिसाउँछ । अर्को गुटले पनि भाग खोज्छ । यसैले चुनावको मुखमा एउटालाई खुशी बनाएर अर्कोको मुख रातो बनाउने सोच प्रधानमन्त्रीको भएको पाएका छैनौं ।’ अर्को चुनावमा कांग्रेसलाई ठूलो पार्टी बनाउन सबै लागे फेरि मन्त्री हुने पालो आउने भन्दै अहिले मन्त्री फेरबदल गर्ने उपयुक्त समय नभएको उनी बताउँछन् ।
एकीकृत समाजवादीमा नियम बनाएरै ६ महिनामा मन्त्री फेर्ने समझदारी भएको तर कांग्रसमा त्यस्तो नभएको उनको भनाइ छ । यसर्थ, कांग्रेसले पनि यही बेला मन्त्री फेरिहाल्नुपर्ने अवस्था नभएको उनी बताउँछन् ।
यसअघि देउवालाई मन्त्री बनाउन आफ्नो टिम, डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षको समीकरण मिलाउन निक्कै सकस परेको थियो । यसैले अहिले एकजना मात्रै पनि चलाउँदा गुटगत रुपमा मिलाउन गाह्रो हुने, नेताबीच नै रिसिइबी बढ्ने भएकोले देउवाले नयाँ अनुहार नचाहेको बताइन्छ ।
यतिमात्रै होइन माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा मन्त्री फेर्न खोज्दाको पहिलो प्रयासले विवादको उत्कर्ष रुप लिएको थियो । बजेट पास नै नभइकन मन्त्री फेरबदल गर्न खोजेपछि समाजवादीका मन्त्रीहरूले चुनौती दिएपछि सरकारले बहुमत नै गुमाउनसक्ने सम्मको अवस्था सिर्जना भएको थियो । तर समाजवादीमा अहिले अवस्था केही मत्थर भएपछि पुराना मन्त्रीलाई फिर्ता गराएर नयाँ अनुहारलाई अवसर दिइएको छ ।
को–को छन् मन्त्रीका दाबेदार ?
कांग्रेसले यसअघि नै केही मन्त्री हेरफेर गर्दै आएको छ । यसैले तत्काल नयाँलाई अवसर दिने सोच प्रधानमन्त्रीको नरहेको बताइन्छ । तर कतिपय व्यवहारिक विषय मिलाउनुपरे केही मन्त्रीको मन्त्रालय भने हेरफेर हुन सक्ने बताइन्छ । मन्त्री बन्नका लागि चाहना गर्नेमा सुजाता कोइराला, पुष्पा भुसाल, डा. डिला संग्रौलासहितका छन् । सञ्जय गौतम, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव र प्रकाश रसाइली स्नेही पनि मन्त्रीका दाबेदार हुन् ।
यसअघि राज्यमन्त्री भएका उमेश श्रेष्ठलाई पनि देउवाले मन्त्रीमा बढुवा गर्न सकेका छैनन् । जिपछिरिङ लामा, बहादुरसिंह लामा पनि मन्त्रीका लागि दाबेदार नाम हुन् ।
नयाँ अनुहारलाई मन्त्री बनाउनेबारे के भनेका थिए थापाले ?
अन्य दलमा मन्त्री फेर्नेबारे चर्चा चलिरहँदा कांग्रेसमा औपचारिक छलफल भएको छैन । तर केही नयाँ सांसदले अहिलेसम्म मन्त्री हुने अवसर पाउनुुभएको छैन । कांग्रेसको सरकार हुँदा मन्त्री हुने अवसर पाए उहाँहरुको निम्ति पनि सिक्ने मौका हुन्थ्यो । भविष्यमा पनि आफूलाई नयाँ जिम्मेवारीमा तयार पार्नका लागि यस्तो अवसर पाए हुन्थ्यो भन्ने धेरै साथीहरूको माग छ ।
किनकि, गठबन्धन र एकल सरकार बन्दा पनि पुरानै र उही अनुहारले मात्रै मन्त्रीमा अवसर पाउने गरेको धेरैको गुनासो छ । यस्तोमा नयाँलाई मन्त्रीमा आकांक्षी हुनु स्वभाविक नै हो । यो आकांक्षाको मात्रै कुरा होइन नयाँ साथीहरूले काम गर्न पाउने अनुभव पनि हो । यो प्रधानमन्त्रीसमेत रहनुभएको संसदीय दलको नेताले सोच्ने विषय हो । यस्तो माग अहिलेसम्म मन्त्री नबन्नुभएका साथीहरूको व्यापकरुपमा उठेको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया