गोदावरी नगरपालिकाले १४ जना डाक्टर र १४ जना इन्जिनियर पढाउन छात्रवृत्ति दिने

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले १४ जना डाक्टर र १४ जना इन्जिनियर पढाउन छात्रवृत्ति दिने भएको छ । २०७९/८० को नीति तथा कार्यक्रममा नगरपालिकाका १४ वटै वडाबाट एकएक जनालाई एमबिबिएस र इन्जिनियरिङ पढ्न पाउने गरी छात्रवृत्तिको व्यवस्था गर्न लागेको जानकारी मेयर गजेन्द्र महर्जनले दिए ।
‘नगरपालिकाको १४ वटै वडाबाट विपन्न र दलित समुदायबाट एकएक जनालाई एमबिबिएस र इन्जिनियरिङ पढाउन निश्चित प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेका छौं’ महर्जनले नेपालवाचसँग भने, ‘हामी यो कार्यक्रम यसै वर्षदेखि लागु गर्छौ । अब केही समयमा नै कार्यविधि बनाएर कति प्रतिशत छात्रवृत्ति दिने भन्ने टुंगो लगाउँछौं ।’ एमबिबिएस र इन्जिनियरिङ पढ्न चाहनेलाई आफूहरूको घोषणाले धेरै राहत मिल्ने उनको भनाई छ ।
हामी यसकारण गर्दैछौं शिक्षा र स्वास्थ्य लगानी
मेयर महर्जनले अरुबाट सिकेको नभई शिक्षा र स्वास्थ्यमा लगानी नगरी समृद्धि नआउने बताए ।
‘यो कार्यक्रम हामीले अरुबाट सिकेको होइन । शिक्षा र स्वास्थ्लाई प्राथमिकतामा लागेपछि मात्रै अरु काममा गर्न सकिन्छ भनेर हो’ महर्जनले नेपालवाचसँग भने, ‘नारामा मात्र समृद्धि भन्दा यो नारामा नै सीमित हुन्छ । यसैले यसैले जगदेखि नै शिक्ष र स्वास्थ्यलाई बलियो बनाउने हिसाबले हामी अघि बढेका छौं । यसैले हामीले प्रत्येक वर्ष डाक्टर र इन्जिनियरिङमा एक एक जनालाई निश्चित छात्रवृत्ति दिन लागेका हौं ।’
शिक्षामा विशेष प्राथमिकता
महर्जनका अनुसार नगरपालिकाले प्राविधिक कलेजको निर्माण कार्यलाई तीव्रता दिने, नगरपालिका भित्रका महत्वपूर्ण सम्पदा, संस्कृति तथा धार्मिक पर्यटकीय स्थलहरूको परिचयलाई पाठ्यक्रममा समावेश गर्ने जानकारी दिए । स्नातक तहसम्म अध्ययन गर्ने ५० जना दलित अल्पसंख्यक तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, २०७९/८० देखि स्थानीय पाठ्यक्रम लागू गर्ने घोषणा पनि नगरपालिकाले गरेको छ ।
प्रतिक्रिया