मनोहरा खोलाको कटानले बस्ती जोखिममा
भक्तपुर । चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् ।
हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रुपमा समस्या समाधान प्रयास नहुँदा हरेक वर्ष बस्ती जोखिममा पर्दै आएका छन् ।
लामो समय बालुवा तस्करीले खोलाको बालुवा झिकेर बिक्री गरेपछि गहिरिँदै गएको नदीको बहाव नै परिवर्तन गर्दै काठमाडौँको सिमाना छाडेर भक्तपुरतर्फको जमिन कटान गर्दै आएपछि बस्ती जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।
केही वर्षयता नदीले आफ्नो धार परिवर्तन गर्दै भक्तपुरतर्फको सिमानामा फैलिँदै जमिन कटान गर्न थालेपछि कतिपयको जग्गा नै खोलामा परेको र बस्ती जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।
नदी आसपासका क्षेत्रका करिब एक दर्जन घर टहरा जोखिममा परेका छन् भने कुइँकेल गाउँसमेत जोखिममा परेको स्थानीयवासीले बताएका छन् । चाँगुनारायण–१ दुवाकोट र कागेश्वरी मनोहरा नगरपालिका मूलपानीको सिमाना भएर बग्ने मनोहरा नदीले भक्तपुरतर्फ कटान गरेपछि स्थानीयवासीले नदीको बहाव परिवर्तन गर्न खोज्दा मूलपानीका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ र भक्तपुरका दुई नगरपालिकाका बासिन्दाबीच विवाद बढेको थियो ।
बस्ती जोखिममा परेपछि काठमाडौँ र भक्तपुरका तीन नगरका नगर प्रमुख र वडाध्यक्षले मनोहरा नदीको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । नदीले बस्ती जोखिममा पारेपछि चाँगुनारायणका नगर प्रमुख खत्रीको संयोजनमा तीन वटै नगरपालिकाका प्रमुखले एकसाथ स्थलगत निरीक्षण गरी समस्याको स्थायी समाधान खोज्ने गरी छलफल भएको नगर प्रमुख खत्रीका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिए ।
नदी कटान क्षेत्रको चाँगुनारायणका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं, मध्यपुरथिमिका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी, कागेश्वरी मनोहराका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, स्थानीय जनप्रतिनिधि, प्राविधिक, स्थानीय प्रशासन र सरोकारवाला पक्षले निरीक्षण गरी स्थायी समाधान खोज्नुपर्ने बताएका थिए ।
मनोहरा खोलाको तटबन्धन निर्माणसहित दिगो व्यवस्थापनका लागि तत्काल संयुक्त रुपमा अवश्यक पलह गर्नेबारे छलफल भएको चाँगुनारायणका प्रमुख खत्रीले जानकारी दिए । निरीक्षणपछि तीन वटै नगरपालिकाका प्रमुखले संयुक्त रुपमा हस्ताक्षर गर्दै मनोहरा नदीले दुवैतर्फ जमिन कटान गर्दै बस्तीसमेत जोखिममा पारेकाले भौतिक तथा मानवीय क्षति हुनबाट रोक्न सचेतना अपनाउन अपिल गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया