NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रेमीको श्रीमतीमाथि हातपात गरेको आरोप लागेकी राज्यमन्त्री वलीले दिइन् राजीनामा

काठमाडौं । प्रेमीको श्रीमती र छोरी कुटेको आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन् ।

वलीले आफ्नो राजीनामा साेमबार नै मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाइएको माओवादी लुम्बिनीका प्रमुख सचेतक तुलराम घर्ती मगरले जानकारी दिएका छन् ।

जेठको अन्तिम साता वाइसिएल नेता एकराज बस्नेतको घरमा प्रवेश गरी उनका श्रीमती र छोरीलाई हातपात गरेको आरोपमा वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मुख्यमन्त्री केसीको दबाबमा रातारात बुटवल झिकाइए पनि केही दिनपछि उनी दाङमा नै फर्किएकी थिइन् ।

घटनाको विषयमा छानविन गर्न सरकारले समिति गठन गरेको थियो । समितिलाई सहयोग गर्न उनले राजीनामा दिएको घर्तीले जानकारी दिए ।