NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नेपालीलाई ‘भुटानी शरणार्थी’ बनाउने खेल

काठमाडौं । भुटानी शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउन संगठित गिरोहले एक हजार १७ गैरशरणार्थी युवाको विवरण गृह मन्त्रालयमा बुझाएको पाइएको छ ।

गिरोहले राजनीतिक दलका नेता, प्रशासक र राजनीतिक दलको मिलेमतोमा सूची तयार गरेर बुझाएको गृहका एक उच्च अधिकारीले बताए ।

गैरशरणार्थी नेपाली युवाको सूची भने सार्वजनिक गरिएको छैन ।

गिरोहले युवालाई शरणार्थी बनाएर अमेरिका लैजाने ग्यारेन्टीसहित जनही २० लाख रूपैयाँ उठाएर सूची तयार पारेको हो । शरणार्थीको आवरणमा अमेरिका पठाइदिने खेलमा गिरोहले सयौं युवाबाट १० करोड रूपैयाँभन्दा बढी रकम उठाएको उजुरी परेपछि छानबिन अघि बढाइएको छ । तथापि, गिरोहले परिचयपत्र दिलाउन चलखेल गरिरहेको स्रोतलाई उद्धृत गर्दै कान्तिपुर दैनिकले खबर लेखेको छ ।

ठगीको विषयमा अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले अहिलेसम्म गिरोहका कसैलाई पनि पक्राउ गरेको छैन । नेपाली युवालाई शरणार्थी बनाएर अमेरिका लैजाने खेलमा संलग्न भएको आशंकामा प्रहरीले जेठ ३१ मा दुई जनालाई नियन्त्रणमा लिए पनि माथिको आदेश भन्दै त्यही दिन छाडिदिएको थियो ।

यस प्रकरणमा सन्देश शर्मा नामका एक व्यक्तिविरुद्ध २ साताअघि पक्राउ पुर्जी लिएर खोजी गरिरहेको प्रहरीले जनाएको थियो । पीडित युवाले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईदेखि पूर्वमन्त्री टोपबहादुर रायमाझीसम्मलाई मुछेका छन् ।