NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

तालिमका लागि २८ देशका ७६ सैनिक नेपालमा

काठमाडौं । भारत र पाकिस्तान, भारत र चीन तथा चीन र अमेरिकी सेनाबीच दुस्मनीपूर्ण सम्बन्ध छ । तर, नेपाली सेनाले ती देशका सैनिक अधिकारीलाई एकै ठाउँमा राखेर तालिम तथा प्रशिक्षण चलाउँदै आएको छ । यसले रक्षा मामलामा नेपालको तटस्थ छवि बनाएको सैनिक अधिकारीहरू बताउँछन् ।

‘संसारमा अमेरिका र चीन, भारत र पाकिस्तानका सैनिकले एकै ठाउँमा अध्ययन वा तालिम लिएको ठाउँ नेपाल मात्रै हो,’ एक उच्च सैनिक अधिकारी भन्छन्, ‘यसमार्फत हामीले नेपालको तटस्थ छवि उजागर गर्न खोजेका छौँ ।’ अमेरिका, चीन, बेलायत र भारतजस्ता शक्तिराष्ट्रका सेनालाई प्रशिक्षण दिएर नेपाली सेनाले आफ्नो कौशलता पनि देखाएको छ ।

नेपाली सैनिक कलेज तथा तालिम शिक्षालयमा भारत र पाकिस्तान एवं अमेरिका र चीनका सैनिक एकैसाथ अध्ययन गरिरहेका छन् । नेपाली सेनाले यो वर्ष २८ देशका ७६ सैनिकलाई एउटा कलेज र चार तालिम केन्द्र/शिक्षालयमा तालिमको अवसर दिएको छ । सेनाको वार कलेज नगरकोटमा भने विदेशीलाई हायर कमान्ड कोर्समा सहभागी गराएको छैन ।

शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, मलेसिया, श्रीलंका, दक्षिण कोरिया, अमेरिका, बेलायत, केन्या, नाइजेरियाबाट नियमित रूपमा एक–एकजना सैनिक सहभागी भइरहेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा अधिकृत क्याडेट तालिमका लागि जाम्बिया, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट नियमित रूपमा एक–एकजना सहभागी भइरहेका छन् ।

यसबाहेक प्यारा तालिम शिक्षालय छाउनीमा प्यारा बेसिक तालिममा पनि विदेशी सैनिक सहभागी छन् । सेनाले बंगलादेश, चीन, क्यानडा, अमेरिका, भारत, लेबनान, माल्दिभ्स, मेक्सिको, पाकिस्तान, रुस, दक्षिण कोरिया र श्रीलंकाका एक–एक सैनिकका लागि कोटा छुट्याएको छ । तर, यो तालिममा बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सबाट मात्रै सैनिक सहभागी छन् ।

अमलेखगन्जस्थित प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा पनि सेनाले विदेशीलाई तालिम दिँदै आएको छ । यसका लागि बंगलादेश, क्यानडा, चीन, अमेरिका, भारत, बेलायत, श्रीलंका, दक्षिण कोरिया, पाकिस्तान, केन्या, मेक्सिको र म्यानमारलाई सेनाले कोटा दिएको छ । यीमध्ये बंगलादेश, अमेरिका, श्रीलंका, दक्षिण कोरिया र पाकिस्तानबाट मात्रै नियमित रूपमा तालिममा एक–एकजना सैनिक सहभागी भएका छन् ।

मुस्ताङको सैनिक उच्च शिखर शिक्षालयमा सेनाले विदेशीलाई हाई अल्टिच्युट तथा माउन्टेन वारफेयर तालिम दिँदै आएको छ । यसका लागि सेनाले भारत, चीन, अमेरिका, बंगलादेश, क्यानडा, जर्जिया, इजरायल, लेबनान, पाकिस्तान, माल्दिभ्स, पोल्यान्ड, रुस, दक्षिण कोरिया, श्रीलंका, स्विट्जरल्यान्ड, थाइल्यान्डका सैनिकलाई अवसर दिएको छ । अमेरिका, दक्षिण कोरिया, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट मात्रै नियमित रूपमा सैनिक यो तालिममा सहभागी हुँदै आएका छन् ।

तालिमका लागि विदेश जान्छन् १७१ नेपाली सैनिक

नेपालबाट तालिमका क्रममा बर्सेनि एक सय ७१ सैनिक बाहिर जाने गरेका छन् । यो नेपाली सैनिकलाई विभिन्न देशले छुट्याएको कोटा संख्या हो । तालिमका लागि सबैभन्दा धेरै भारतमा एक सय एक र त्यसपछि पाकिस्तानमा २२ जना जाने गरेका छन् । अमेरिकामा १२, बेलायतमा नौ, बंगलादेशमा सात र चीनमा चारजनालाई कोटा छुट्याइएको छ । श्रीलंकामा तीन, क्यानडामा एक, दक्षिण कोरियामा २१, नाइजेरियामा दुई, स्विट्जरल्यान्डमा दुई तथा मलेसिया, थाइल्यान्ड, माल्दिभ्स, जर्मनीमा एक–एकजना सैनिकलाई कोटा छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष