NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज २३ गते

गाईघाटका पसल डुबानमा, लाखको क्षति

उदयपुर । गएराति परेको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको सदरमुकामस्थित गाईघाट बजार क्षेत्रका सयौं घर पसल डुबानमा परेका छन् ।

निरन्तर वर्षाका कारण बजार क्षेत्र र घर डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य बस्तु सबै नष्ट भएर पचासौं लाखभन्दा बढीको सामान क्षति भएको स्थानीय व्यापारीले बताएका छन् ।

गाईघाट बजार असारी लाइन क्षेत्रका एक पसल सञ्चालक तीलक खड्काका अनुसार शुक्रबार साँझदेखि परेको भीषण वर्षाको कारण गएराति आफूहरुको टोलसहित पसल र घर डुबानमा परेको र आफ्नो पसल डुब्दा दशौं लाखको उपभोग्य बस्तु नष्ट भएको छ ।

मुख्य गरेर गाईघाट बजार क्षेत्रको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभाटोल र मुख्य बजार क्षेत्रको पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबानमा पर्दा पसलमा राखिएका अधिकांश उपभोग्य बस्तु नष्ट हुन पुगेको अर्का पसल सञ्चालक दीपक कार्कीले बताए ।

अन्य स्थानीयवासीको पनि घरभित्र पानी प्रवेश गर्दा घरका अधिकांश सामग्री पानीले बिगारेको उनीहरुको गुनासो थियो ।

त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विकले शुक्रबार बेलुकीदेखि आएको निरन्तर भीषण बर्षाका कारण बजार क्षेत्रका घर र पसलभित्र पानी प्रवेश गरेर डुबानमा परेकाले धेरै पसलका सामग्री नष्ट हुन पुगेको र आफूले बिहानैदेखि अनुगमन र स्थलगत अध्ययन सुरु गरेको जानकारी दिए ।

क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको र धेरै क्षति भएका कारण सबै आँकडा संकलन नभएसम्म क्षतिको यथार्त विवरण आउन ढिलाइ हुने उनको भनाइ थियो ।

नगरपालिकाका प्रमुख र उपप्रमुख वसन्त बस्नेत र महेस्वरी राईले पनि बजार डुबानमा परेपछि गाईघाट बजारको डुबानको क्षतिको बारेमा आफूहरुले अध्ययन सुरु गरेको उपप्रमुख राईले बताए ।