सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच शनिबार भेटवार्ता भएको छ । अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा सभामुख सापकोटाले अजरबैजानले असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलन सफलरुपमा आयोजना गरेकोमा बधाई ज्ञापन गरेका थिए । उनले असंलग्न आन्दोलनका आदर्श महत्वपूर्ण भएको उल्लेख गर्दै यसका आदर्श र एजेन्डाप्रति अजरबैजानले जनाएको प्रतिबद्धताको प्रशंसा गरेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
सभामुख सापकोटाले अन्तर्राष्ट्रिय एकताको प्रयासबाट मात्र विश्वव्यापी चुनौतीको समाधान गर्न सकिने धारणा राखेका थिए । अजरबैजानसँग नेपालको लामो कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै उनले २०७२ सालको भूकम्प पछिको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
भेटमा अजरबैजानका सभामुख गफारोवाले नेपालको सभामुखसहितको प्रतिनिधिमण्डललाई आफ्नो देशमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै सहभागिता र सम्बोधनका लागि आभार व्यक्त गरेका थिए । यसअघि स्पेनमा भएको अन्तर व्यवस्थापिका सङ्घको बैठकका क्रममा भएको भेट स्मरण गर्दै गफारोवाले नेपालसँग संसदीय मैत्री समूह बनाउन अजरबैजानको संसद् तयार रहेको बताए ।
सो अवसरमा नेपाली प्रतिनिधिमण्डलका सदस्य पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी थिए । बाकुमा जारी सम्मेलनमा सहभागी हुन यही असार १४ गते त्यसतर्फ प्रस्थान गरेका सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल यही असार १९ गते साँझ नेपाल फर्कने कार्यक्रम छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया