NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

वाग्मती सरकार फेरबदलको पराकम्पले सुदूरपश्चिम सरकार धरापमा

काठमाडौं । सत्तारूढ दल एकीकृत समाजवादीले वाग्मती प्रदेश सरकारको नेतृत्व गुमाउनु पर्ने अवस्था आए सुदूरपश्चिमको नेतृत्व दाबी गर्ने रणनीति तय गरेको छ ।

एमालेबाट विद्रोह गरी एकवर्ष अघि गठन भएको एकीकृत समाजवादीले ०७४ मा एमालेले नेतृत्व गरेको वाग्मती र प्रदेश १ मा गत कात्तिकमा आफ्नै नेतृत्वमा सरकार बनाएको थियो । तर पाण्डे नेतृत्वमा सरकार बन्नुअघि आलोपालो सरकार गठन सम्बन्धमा गठबन्धन दलहरूबीच सहमतिपत्रमा हस्ताक्षर गरेका कारण यतिबेला नेकपा एस अप्ठ्यारोमा परेकाे छ।

विगतको सहमति पालना गर्न दबाब दिँदै वाग्मतीमा कांग्रेस र माओवादी सांसदहरूले हस्ताक्षर संकलन गरेपछि सरकार छोड्न मुख्यमन्त्री पाण्डेमाथि निकै दबाब परेको हाे । सरकार परिवर्तनको विषयमा केन्द्रको निर्णय आफूलाई मान्य हुने भन्दै पाण्डेले सरकारबाट बाहिरिन आनाकानी गर्दै आएका छन् ।

वाग्मतीमा तीन दलबीच खटपट आएपछि गतहप्ता प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलको बैठक बसेको थियो । नेकपा एसका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनालले वाग्मती सरकार छाड्ने भए सुदूरपश्चिमको सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान लिएपछि बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

यसै विषयमा रणनीति तय गर्न एसको सचिवालय बैठक कान्तिपथस्थित होटल प्यागोडामा बसेको छ । प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीमा सरकार हेरफेर भएपनि मधेश र सुदूरपश्चिमा पुरानै सरकारले निरन्तरता पाइराखेको छ । मधेशमा जसपाको नेतृत्वमा गठबन्धनको सरकार रहेको छ । सुदूरपश्चिममा सबैभन्दा ठुलो दल एस भएपनि माओवादीका नेता त्रिलोचन भट्टको नेतृत्व सरकारले निरन्तरता पाइरहेको छ ।

‘एमालेको एकल नेतृत्वमा सरकार बन्ने अवस्थामा पनि माओवादीको नेतृत्व हामीले स्वीकार गरेका थियौं । मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा पर्दा पार्टीभित्रै विद्रोह गरी हामीले सरकार जोगाइदियौं’, नेकपा एसका एक नेताले भने, ‘हामीले वाग्मती सरकार छोड्ने भए स्वभाविक रूपमा सुदूरपश्चिमा हाम्रो दावी रहन्छ । सरकार गठन र विघटनलाई लिएर गठबन्धनबीच तिक्तता बढाउनुभन्दा पनि गठबन्धनलाई अझै बलियो बनाएर लैजानु आवश्यक छ ।’

१०९ सदस्यीय प्रदेश सभा रहेको वाग्मतीमा एमाले ४३, माओवादी २३, कांग्रेस २२, एकीकृत समाजवादीका १३ जना सदस्य रहेका छन् । त्यस्तै विवेशशील साझा ३, राप्रपा २, नेमकिपा २ र जसपा १ जना सदस्य छन् ।

ओली सरकार ढालेर वाम–लोकतान्त्रिक सरकार बनाउन महत्वपूर्ण योगदान गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेसमेत यी दुई प्रदेशमा एसलाई सहयोग गरेका थिए ।

केन्द्रको निर्णयप्रति असहमति जनाउँदे कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले आफ्नै नेतृत्वमा सरकार बनाउने अडान लिएका थिए । तर गठबन्धनका शिर्ष नेताहरूले सरकारको नेतृत्व आलोपालो गरी सरकार बनाउने आश्वासन दिएपछि बानियाँ आफ्नो अडानबाट पछि हटेका थिए ।

आठमहिना अघिको त्यही सहमति गठबन्धनका लागि घाँडो भएको छ । वाग्मती सरकार हेरफेर हुँदा सुदूरपश्चिम सरकार ढल्ने देखिएपछि सहमति कायम हुनेमा आशंका उब्जिएको छ ।