NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रामेछाप दुर्घटना : ‘ब्रेक फेल’ भएको गाडी चलाउँदा १३ जनाको ज्यान गयो

काठमाडौं । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा घटनास्थलमा ९ जना र धुलिखेल अस्पतालमा ४ जनाले ज्यान गुमाएका छन् ।

उपचारका लागि अस्पताल ल्याइएका घाइतेमध्ये तीन पुरुष र एक महिला गरी ४ जनाकाे मृत्यु भएको काभ्रे प्रहरीले जानकारी दिएको छ । घाइते २२ जनालाई उपचारका लागि धुलिखेल र तीन जनालाई हेलिकप्टरमार्फत् काठमाण्डू पठाइएको प्रमुख जिल्ला अधिकारीले दीपककुमार पहाडीले बताए ।

आज बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो ।

रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भिरमा खसेर तल्लो सडकमा बजारिँदा नौ यात्रुको ज्यान गयो । प्रारम्भिक अनुसन्धानबाट बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ ।

सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

दुर्घटनास्थल दुई गाउँपालिकाको सीमामा पर्ने भए पनि सुनापाती–५ कै क्षेत्र लुभुघाटमा भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । हिँडेको केही घन्टापछि बस दुर्घटनामा परेको बताइएको छ । गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस हल्लिँदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताए ।

उनका अनुसार घटनास्थल रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट झन्डै ६३ किलोमिटरमा छ । दुर्घटना भएको स्थलबाट मध्यपहाडी राजमार्ग भेट्न केही सय मिटरको मात्रै दूरी थियो । त्यसपछि केही राम्रो सडक थियो । त्यहाँबाट केही किलोमिटरको दूरीमा विपी राजमार्ग (पक्की सडक) भेटिने पनि उनले बताए ।

बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेर तल्लो सडकमा पुगेको छ ।

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङ मन्थलीबाट पश्चिम ४ घन्टाको यात्रामा घटनास्थल पुगिने भन्दै अहिले आफ्नो टोली घटनास्थलतर्फ गइरहेको बताए । स्थानीयवासी र प्रहरीले उद्धार कार्य सम्पन्न गरी शवको जाँच मुचुल्का उठाउने कार्यमा प्रहरी जुटेको सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिए ।