NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

छानबिन समितिको प्रतिवेदन नआएसम्म माओवादी केन्द्रले अर्थमन्त्रीमा दोस्रो व्यक्ति नपठाउने

काठमाडौं । करको दर हेरफेर प्रकरणमा विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदबाट राजीनामा दिएपछि केही समय उक्त पद रिक्त रहने भएको छ ।

बजेट निर्माणको क्रममा जेठ १४ गते राति अर्थमन्त्रीको कार्यकक्षमा अनाधिकृत व्यक्ति प्रवेश गराएको आरोपमा एमालेले मन्त्री शर्मालाई राजीनामा दिन दबाब दिएपछि उनले पद त्यागेका थिए ।

माओवादीको जारी केन्द्रीय कमिटी बैठकले पनि शर्मालाई राजीनामा दिन सुझाव दिएको थियो । अध्यक्ष प्रचण्डले शर्मालाई आफ्नै निवासमा बोलाइ राजीनामा दिन सुझाएका थिए ।

शर्माले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले शर्मामाथि छानविन गर्नका लागि ११ सदस्यीय विशेष संसदीय समिति गठन गरेका छन् । छानविन समितिको प्रतिवेदन नआएसम्म माओवादीले अर्थमन्त्रीमा अर्को व्यक्तिलाई नपठाउने नेता गणेश साहले जानकारी दिए ।

‘उहाँमाथि लागेको आरोपबारे संसदीय छानविन समिति बनेको छ । समितिले आफ्नो प्रतिवेदन पेश गर्नेछ । छानविन अवधिभर अर्थमन्त्रीको पद रिक्त रहन्छ । तत्काल पार्टीले दोस्रो व्यक्तिलाई पाठाउँदैन’, उनले भने, ‘अर्थमन्त्रीको हिसाबले धेरै राम्रो काम गर्नुभएको छ । यदि प्रमाणित भएन भने उहाँ नै जिम्मेवारी लिएर जानुहुन्छ । त्यतिबेलासम्म अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुहुन्छ ।’

शर्माको राजीनामा पछि गृहमन्त्रालय दाबी गर्ने वा अर्को व्यक्तिलाई पठाउने पार्टीको नीति नभएको उनले बताए । बुधबार पूर्वअर्थमन्त्री तथा नेता वर्षमान पुनले पनि अर्थमन्त्रीमा पुनः शर्मा नै हुने प्रतिक्रिया दिएका थिए ।

नेता साहले अर्थमन्त्रीको राजीनामा मागेपछि एमालेसँग तत्काल सहकार्यको सम्भावना टरेको यो केसले स्थानीय तहको निर्वाचनभन्दा बढी ‘मार्केट’ हुने साहले दाबी गरे ।