NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पहिचान झल्कने गरी प्रदेशको नामाकरण गर्न माग

काठमाडौं । स्थानीय पहिचानका आधारमा प्रदेश नं १ को नामाकारण गर्नुपर्नेमा सरोकार भएका सङ्घसंस्थाले आग्रह गरेका छन् । प्रदेश नं १ को प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी गरेको सन्दर्भमा सरोकारवालाले त्यस्तो आग्रह गरेका हुन् ।

नाकारणका लागि घनिभूत छलफलमा रहेका राजनीतिक दलले पहिचानका विषयमा कुनै चासो नराखेको र सुन्नै नचाहेको उनीहरूको भनाइ छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले) कोशी, सगरमाथालगायत नामाकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र लिम्बूवान पक्षधर पार्टीहरू भने पहिचानकै आधारमा हुनुपर्ने तर्क गरिरहेका छन् ।

लिम्बूवान किराँत संयुक्त सङ्घर्ष समितिका तर्फबाट आज आयोजित पत्रकार सम्मेलनमा सरोकारवाला सबै पक्षले पहिचानलाई ख्याल गरेर प्रदेशको नामाकारण गर्नुपर्नेमा जोड दिएका थिए । एमालेसम्बद्ध लोकतान्त्रिक लिम्बू सङ्घका अध्यक्ष त्रिवेणी चोङवाङले प्रदेश नं १ को नाम पहिचानमा आधारित हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता उत्तमसिंह थाङदेनले पनि सो कुराको समर्थन गरे । उनले पहिचानको पक्षमा स्पष्ट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसमा अहसमति राख्नुपर्ने कुनै कारण नभएको बताए ।

लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले प्रदेशको नामाकरण गणितीय हिसाबले राख्न नहुने बताए । नेकपा माओवादी केन्द्र सम्बद्ध लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङबोले प्रदेश नं १ को नामाकरण निकै जटिल रहेको बताए । प्रदेससभाको गणितले सहजै नामाकरण गर्न सकिने भए पनि समग्र लिम्बूवान किराँतवासीको भावनालाई कुल्चेर अगाडि बढ्न सहज नभएको उनको भनाइ छ ।

किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले प्रदेश नं १ को नाम लिम्बूवान किराँत नै हुनुपर्ने मत राखे । नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने धारणा राखे ।