NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कांग्रेस केन्द्रीय समिति बैठक आज, शेखर पक्षले मन्त्री हेरफेरको विषय उठाउने

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । स्थानीय तह निर्वाचनपूर्व गत चैत ११ पछि सोमबार कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय समिति बैठक तय भएको जानकारी दिए ।

प्रवक्ता महतका अनुसार, स्थानीय तह निर्वाचनको समीक्षा बैठकको मूल एजेण्डा रहेको छ । सत्तासाझेदार दलसँग गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा होमिएको नेपाली कांग्रेसले आफ्नो स्थिति ०७४ को भन्दा सुदृढ पारेको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे पनि बैठकमा छलफल हुने बताइएको छ । सत्तासाझेदार दल आउँदो दुई तहका निर्वाचनमा  गठबन्धन गर्ने पक्षमा छन् । कांग्रेसले स्थानीय तह निर्वाचनमा इमान्दारितापूर्वक गठबन्धनको पालना नगरेकाले अब त्यसो नहुने सुनिश्चितता उनीहरूले खोजेका छन् ।

डा. शेखर कोइराला नेतृत्वको समूहले भने मन्त्री परिवर्तनलाई मुख्य एजेण्डाका रूपमा बैठकमा उठाउने भएको छ । कांग्रेसको संस्थापनइतर समूहले पछिल्लो समय मन्त्री फेरबदल गर्नुपर्ने विषय उठाउँदै आए पनि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पन्छाउँदै आएका छन् ।

सरकारको काम–कारबाही र पार्टी सञ्चालनमा देखिएका कमीकमजोरीलाई पनि शेखर समूहले उठाउँदैछ । देउवा नेतृत्वको सरकारको पारदर्शितामाथि शेखर समूहले लगातार प्रश्न उठाउँदै आएको छ । बढ्दो महँगीले जनजीवन आक्रान्त बने पनि यसप्रति सरकार जिम्मेवार नबनेको यो समूहको ठहर छ । विधि र विधानअनुसार पार्टी सञ्चालन नगरिएकोमा पनि शेखर समूह देउवासँग असन्तुष्ट बनेको छ ।

यसैबीच, कोइराला पक्षका नेता–कार्यकर्ताले केन्द्रीय समिति बैठकपूर्व बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका छन् । नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दललगायत भ्रातृ संस्थाका कोइराला पक्षधर नेता कार्यकर्ताले भातृ संस्थालाई पूर्णता दिन माग गर्दै प्रदर्शन गर्न लागेका हुन् ।

गत फागुनमा सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकले अवधि पुगेका भातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको थियो । पछि देउवाले यसमध्ये चारवटाको मूल नेतृत्व चयन गरे पनि तिनले अहिलेसम्म पूर्णता पाउन सकेका छैनन् ।