NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बुटवल उपमहानगर कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

बुटवल । बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । बुटवलमा सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए । उनले कोभिड–१९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रंशसनीय रहेको जनाउँदै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने बताए ।

कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारूले आगामी समयमा हुनसक्ने स्वास्थ्य चुनौतीको सामना गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्णखोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्णखोप सुनिश्चित घोषणा गरेको जानकारी गराए ।

उनले तथ्याङ्क सङ्कलकलाई अभिमुखीकरण गरी खोप नलगाउने तथा छुट नागरिकको तथ्याङ्क सङ्कलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रचार–प्रसार, छुट नागरिकलाई खोप सेवा प्रदान, वडाबाट ‘रेण्डम’ सर्वेक्षण, सबै वडाको पूर्णखोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको बताए ।

बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले बुटवलभित्र र बुटवल बाहिरका नागरिकलाई समेत कोभिडकालमा सेवा प्रदान गरेको बताइन् । उनले बुटवलमा खोेप सुनिश्चित भएको र खोप लगाउन बाँकी रहेकालाई खोप लिन आह्वान गरिन् ।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले उपमहानगरपालिकालाई पूर्णखोप घोषणा गर्नका लागि जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस, जिल्ला खोप समन्वय समितिबाट भेरिफिकेसन गरी पूर्णखोप गर्न अनुमति प्रदान भएको जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष