NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

देश छाडेर भागे श्रीलंकाका राष्ट्रपति

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटावय राजपाक्ष देश छाडेर भागेका छन् । आर्थिक संकटको मूल कारक ठहर गर्दै आमनागरिकले निशाना बनाएपछि देशभित्र लुकेर बसिरहेका उनी मंगलबार राति सुटुक्क विदेश भासिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार, गोटाबाय सैनिक विमान चढेर माल्दिभ्सको माले पुगेका छन् ।

गोटावायसँगै उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि श्रीलंका छाडेका छन् । उनी भने अमेरिका पुगेको बताइएको छ ।

आफू र आफ्नो सरकारविरुद्ध प्रदर्शन चर्किएपछि यसअघि पनि उनले विदेश भाग्ने प्रयास गरेका थिए । तर विफल भएको थियो ।

गोटाबायले यसअघि नै सभामुखमार्फत पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन् । जसको पुष्टि पछि त्यहाँका प्रधानमन्त्रीले पनि गरेका थिए ।

मार्गप्रशस्त गर्न तयार हुँदाहुँदै पनि देश छाड्ने मनस्थितिमा पुग्नुको कारण अब बन्ने सरकारको छानबिन र कारबाहीको भय रहेकाे बताइएको छ ।

गोटाबयको देशबाट भएको सकसपूर्ण बहिर्गमनप्रति टिप्पणी गर्दै श्रीलंकामा अघोषित रूपमा चल्दै आएको राजपाक्ष परिवारको वंश ढलेको विश्लेषण गरिएका छन् ।

बिबिसीका अनुसार, राष्ट्रपति भागेको खबर फैलिएसँगै प्रदर्शनकारीहरू उत्साहित भएका छन् । उनीहरूले कोलम्बोलगायत स्थानमा खुसीयाली मनाइरहेका छन् ।

आर्थिक रूपमा टाट पल्टिएर पेट्रोलिय पदार्थ, औषधिलगायत अत्यावश्यकीय वस्तु खरिद गर्न नसक्ने अवस्थामा देश पुगेपछि केही महिनादेखि श्रीलंकामा प्रदर्शन चर्किएको थियो ।  गत शनिबार मात्रै प्रधानमन्त्री निवासमा आगजनी गरेर प्रदर्शनकारीले त्योसँगै राष्ट्रपतिनिवाससमेत आफ्नो नियन्त्रणमा लिएका थिए । अहिले पनि त्यसलाई उनीहरूले मुकाम बनाएर नियन्त्रणमा राखिरहेका छन् ।

राजपाक्ष सरकार ढलेसँगै  श्रीलंका नयाँ राजनीतिक कोर्षमा प्रवेश गरेको छ ।  पूर्वघोषणाअनुसार बुधबार राष्ट्रपतिले राजीनामा दिएमा शनिबारसम्म श्रीलंकाले नयाँ राष्ट्रपति पाउनेछ । श्रीलंकामा राष्ट्रपति बन्न प्रतिपक्षी दलका नेताले रुचि देखाएका छन् । तर अहिलेसम्म निश्चित भने भइसकेको छैन ।