NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १० गते

श्रीलंका, पाकिस्तान र लाओस यसरी टाट पल्टिए : डा. स्वर्णिम वाग्ले

गाउँघरतिर हामी सुन्थ्यौं । फलानोको उठिबास भयो रे । घरजग्गा सबै उठिबास लागेर तराईतिर झर्यो, मुग्लानततिर गयो भन्ने सुनिन्थ्यौं । यो व्यक्तिहरूको हकमा हो । तर देशहरूको हकमा आर्थिक रुपमा टाट पल्टिनुको विषय बडो रोचक छ ।

देशहरूको हकमा भने टाट पल्टिनु भनेको विदेशी मुद्राको सञ्चिति रित्तिनु हो । आधारभूत आयात गर्न नसक्नु हो । आधारभूत खर्चहरु धान्न नसक्ने स्थितिलाई टाट पल्टिनु भनिन्छ । यो विदेशी मुद्रा विनिमयको कोणबाट मात्रै हो । जायजेथा सम्पत्ति, बनाइएका संरचना, नगद रुपैयाँ त छँदैछन् । तर परिवर्तीय मुद्राको जहाँ–जहाँ भोगचलन हुन्छ यसको कोणबाट हो ।

श्रीलंकामा ८० बिलियन डलरको अर्थतन्त्र छ । केन्द्रीय बैंकमा डलरको संचिति ५ मिलियन पनि छैन । बरु नेपालमै ३५–४० बिलियनको इकोनोमीमा रेमिटेन्सले गर्दा १० बिलियनको संचिति छ । हामीमा ६/७ महिनाको आयात धान्न सक्ने अवस्था छ भन्ने छ । तर श्रीलंका यस्तो रहेन । देश नै टाट पल्टियो । एक महिनाको आयात पनि धान्न सक्ने अवस्था श्रीलंकाको रहेन ।

पाकिस्तानको पनि २५० बिलियनको इकोनोमी हो । तर एक दुई महिना भन्दा बढी धान्न सक्ने अवस्था रहेन । लाओस पनि त्यही अवस्थामा छ । यस्तोमा आयातलाई व्यापक रुपमा कर्टेल गर्नुपर्यो । आधारभूत खर्च पनि रोक्नुपर्यो । भनेपछि सबैमा बन्देज है, सबैमा रोक भनेपछि मुलुक टाट पल्टियो अब केही गर्न सकिएन भन्ने भएको हो ।

कसरी पुगे यस्तो अवस्थामा ?

विगत ४०/५० वर्षमा गरेको विकासको रेकर्ड हेर्दा औसत आयु घटेको छैन, मृत्युदर बढेको छैन, प्रतिव्यक्ति आय ग्रोथरेट अलिकति सब डु भयो । श्रीलंकाको हकमा प्रतिव्यक्ति आय ३७/३८ सय डलर स्थितिमै छ । यस्तै संकट निरन्तर हुने हो भने खस्कँदै जाने भयो । विगत केही दशकमा गरिएका विकासका उपलब्धीहरू यथावत नै छन् । अहिलेको अस्थायी सक हो । श्रीलंकाको हकमा तमिल विद्रोहलाई सकेर राक्षापाक्षहरुले दुई तीन दशक पछाडि परेको विकासलाई क्याचअप गर्नुपर्छ भनेर पूर्वाधारमा फोकस गर्नुको परिणाम हो । पाकिस्तान र लाओसमा पनि यही भएको हो ।

श्रीलंकामा मात्तला एयरपोर्ट १० लाख यात्रु आउने भनेर व्यापक ऋण लिएर बनाइयो । तर १२ जना आए भन्ने छ । पाकिस्तानमा ६४ बिलियन डलरको सिपेक भन्ने माथिदेखि तल ग्वादरसम्म ठूलठूला १५ वटा प्रोजेक्ट उर्जा सडक, स्पेशल इकोनोमी जोनमा खर्च गरियो । चीनबाट धेरै ऋणमा खर्च गरियो । विकासोन्मुख मुलुकलाई विकासमा छिटो क्याचअप गर्नुपर्नेछ । सरल कर्जाले सहजता भयो । श्रीलंकासहितका मुलुकले सहज र सरल कर्जा उपलब्ध भयो । छेलोखेलो भयो ।

सुरुमा राम्रै भयो । तर विस्तारै शासक वर्गलाई कुशासनको बाटोतर्फ लग्यो । सजिलो गरी ऋण पाइयो तर जथाभावी यसको प्रयोग भयो । श्रीलंका र लाओसमा त्यही भयो । लाओसमा भियन्टानदेखि कुन्मिङसम्म ६ बिलियन डलरको रेलवे बनाइयो । ठूलो संख्यामा पर्यटक आउने र सामान ओसारपसार गर्ने सम्भावना कम नै देखिन्छ । ६० लाख जनसंख्या भएको र बजार पनि सानो भएको देशमा यो साह्रो ठूलो र महत्वकांक्षी प्रोजेक्ट भयो । पाकिस्तानमा पनि एकैचोटी ६४ बिलियनको प्रोजेक्ट सुरु भयो । योजना महत्वकांक्षी भए । तर यस्ता लगानी गरिएका पूर्वाधारले डलर ल्याउने हुनुपर्यो । अर्थतन्त्रलाई चलायमान बनाउनुपर्यो । तर त्यो गरेको छैन । यस्तो ऋणले आन्तरिक उत्पादन बढाएर निर्यात बढाउनुपर्ने हो । किनकी लिएको ऋणको सावा ब्याज तिर्दै जानुपर्ने हुन्छ । यसको लागि डलरमै आम्दानी हुनुपर्यो । श्रीलंकाको हकमा ट्रेडेबल सरप्लस जेनेरेट नभएको देखिन्छ । यो हुनुको कारण शासक वर्ग अंहकारी र भ्रष्ट हुँदै जानु हो । इजी मनी फ्लोले यस्तै हुँदै गएको हो । सनकको भरमा प्रोजेक्टहरू सुरु गरेपछि यस्तो भएको हो ।

श्रीलंकाको हकमा रुसी युद्धले पनि प्रभाव पार्यो । श्रीलंका आउने पर्यटकमा तेस्रो बढी त्यही रुसी र युक्रेनकै धेरै रहेछन् । लाओसमा पनि ५३ प्रतिशत चीनको ऋण छ । १५/१८ प्रतिशत आइएसबीको छ । यो कहाँ गएर जोडिन्छ भने । इन्टरनेसनल क्रेडिट रेटिङमा जोडिन्छ । नेपालको त भएकै छैन । लाओसले यस्तो रेटिङ गरेको रहेछ ।

डलरमा ऋण तिर्न डलरमा नै आम्दानी हुने खालको पूर्वाधार लगानी, विशेष आर्थिक क्षेत्रमा विदेशी लगानी ल्याउन सक्नुपर्यो । रोड र पोर्टमा गरेको लगानीले एक्सपोर्ट बढाउने र ऋण तिर्न सक्ने हुनुपर्यो ।

यी देशबाट नेपालले के सिक्ने ?

जथाभावी ऋण लिन भएन । घाँटी हेरेर हाड निल्नुपर्यो । अन्तर्राष्ट्रिय सोभरेन बोन्डमा पनि अनुशासन र एकरुपता देखिनुपर्छ । श्रीलंकामा करको रेट एकैपटक घटाइयो । कर्पोरेट करको रेट २८ बाट २४, आयकर २५ बाट १८ मा झारेको छ । भ्याट १५ बाट ८ मा झारियो । यस्तोलाई अभ्यासलाई मार्केटले दण्ड दिने रहेछ ।

(वाग्लेले युएनडिपीको एसिया प्रशान्त क्षेत्रको प्रमुख सल्लाहकारको रुपमा काम गरेका छन् ।)