NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

श्रीलंकामा थप तनाव : प्रधानमन्त्रीले हस्तक्षेप बढाए, राष्ट्रपतिको राजीनामा आएन

काठमाडौं । सैनिक शिविरमा लुकेर बसेका श्रीलंकाली राष्ट्रपति गाटावाय राजपाक्ष सत्तामा फर्कंन नसक्ने निश्चित भएपछि भागेर माल्दिभ्स पुगेका छन् । योसँगै श्रीलंकाको राजनीतिमा दुई दशकभन्दा लामो समयदेखिको वंशवादी शासन तोडिएको छ । तर आन्दोलनले कुन रूप लिने भन्ने निश्चित छैन, किनकि संकटग्रस्त मुलुक सम्हाल्ने राजनीतिक तथा आर्थिक विधि अझै तय हुन सकेको छैन ।

राष्ट्रपति भवन कब्जा गरेको पाँचौं दिन बुधबार प्रदर्शनकारीले कोलम्बोस्थित प्रधानमन्त्री कार्यालय पनि नियन्त्रणमा लिएका छन् । मंगलबार राति राष्ट्रपति राजपाक्ष मुलुक छाडेर भागेपछि आन्दोलनकारी फरक मुडमा देखिएका छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का अन्य सदस्य र सबै २ सय ६५ सांसदले राजीनामा दिनुपर्ने माग प्रदर्शनकारीको छ ।

आन्दोलनकै दबाबमा यसअघिका प्रधानमन्त्री महिन्द्रा राजपाक्षले पदत्याग गरेपछि रनिल विक्रमासिंघेले यो जिम्मेवारी लिएका छन् । तर गहिरो संकट टर्ने संकेत अझै देखिएको छैन ।

शीर्षस्थ नेतृत्वमा रहेका दुवै नेताले पदत्याग गर्नुपर्ने माग गर्दै गत शनिबार आन्दोलनकारी राष्ट्रपतिनिवासभित्र प्रवेश गरेका थिए । उक्त क्षेत्र अझै उनीहरूकै कब्जामा छ । बढ्दो जनदबाबबीच राष्ट्रपति राजपाक्षले राजीनामा दिने जानकारी सभामुख र प्रधानमन्त्री कर्याालयलाई गराएका थिए । बुधबार राष्ट्रपति राजपाक्षले राजीनामा बुझाउने र २० जुलाईमा संसद्बाट नयाँ राष्ट्रपति चुनिने आस गरिएका बेला मंगलबार राति एकाएक दृश्य बदलिएको हो ।

राष्ट्रपति राजपाक्ष श्रीमती र दुई अंगरक्षकसहित मुलुक छाडेर माल्दिभ्स पुगेका छन् । सरकारको निर्देशनमा वायु सेनाको विमानबाट उनी माले उत्रिएका थिए । राष्ट्रपति नै मुलुक छाडेर भागेपछि सभामुखले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिएका छन् । तर आन्दोलनकारीहरू भने विक्रमासिंघेले समेत राजीनामा दिएर मार्गप्रशस्न गर्नुपर्ने माग गरिरहेका छन् ।

उता, बुधबार राजीनामा दिने बताएका राजपाक्षले अझैसम्म पदत्यागको पत्र पठाएका छैनन् । देश छाडेर भागे पनि बुधबार साँझसम्म राजपाक्षले राजीनामा बुझाउने व्यवस्था मिलाएको सभामुख महिन्द्रा याप अबेवर्दनाले दाबी गरेका थिए । तर राजीनामा नदिई मुलुक छोडेर भागेका राजपाक्षले आफ्नै दलका विक्रमासिंघेलाई नेतृत्व दिएकामा आशंकित प्रदर्शनकारीले बुधबार प्रधानमनत्री कार्यालयमा नाराबाजी र तोडफोड गरे । तर विक्रमासिंघे सुरक्षित छन् । कान्तिपुर दैनिकमा खबर छ ।

कार्यवाहक राष्ट्रपति तोकिएका विक्रमासिंघेले राष्ट्रिय टेलिभिजनबाट देशवासीका नाममा सम्बोधन गर्दै मुलुकमा संकटकाल घोषणा गरेका छन् । राजधानी कोलम्बोसमेत पर्ने पश्चिम क्षेत्रमा त कर्फ्यूको आदेशसमेत दिए । सरकारको घोषणा कार्यान्वयन गर्न उनले तीनवटै सुरक्षा निकाय सम्मिलित समिति बनाएका छन् । जसमा प्रमुख रक्षा अधिकारी, ट्राइ फोर्सेस कमाण्डर र प्रहरी प्रमुख छन् ।