NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मध्यान्तरमै टुंगियो दाहालको नियात्रा

काठमाडाैं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल तीनदिने भारत भ्रमण पूरा गरी आइतबार काठमाडौं फर्किएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा आएका दाहालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेट्न पाएनन् । कार्यसूचीमा मोदीसँगको भेटबारे औपचारिक रूपमा कतै उल्लेख थिएन तर भेट हुने जानकारी उनकै सचिवालयले दिएको थियो ।

मोदीसँगको भेट दाहालका लागि कति महत्त्वपूर्ण थियो भन्ने उनी आफैंले स्पष्ट पारेका छन् । तेस्रो दिन आइतबार बिहान नड्डासँग भेटवार्ता गरेर बाहिरिँदै गर्दा दाहालले भनेका थिए, ‘क्लाइमेक्स बाँकी छ ।’ तर लगत्तै उनले मोदीको समय नमिलेको सूचना पाए ।

मोदीसँग भेट नभएकोमा उनी आफैं पनि चकित देखिएका छन् । काठमाडौं विमानस्थलमा ओर्लनासाथ उनले भने, ‘पौने १ बजेको थियो । र, १ बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो । समयमै एयरपोर्ट जानुपर्छ भनेर अलि हतार गरेर मोदीजीलाई भेट्न निक्लियौं, होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने (खबर) आयो ।’

भेट किन हुन सकेन भन्ने मेसो नपाएको पनि दाहालले खुलाए । ‘अब किन हो भन्ने तपाईंहरू जस्तै मैले पनि थाहा पाएको छैन । एउटा त के हो भने बिजेपी प्रेसिडेन्टले बोलाएको हुनाले उहाँले अन्तिम भेट गरिसकेपछि क्लाइमेक्स त्यही हो भन्ठानेर हो कि भन्ने पनि उहाँहरूले चर्चा गर्नुभयो,’ दाहालले भने, ‘अहिले सम्भव भएन भन्ने आयो । मलाई त्यसले केही टेन्सन छैन । भएको भए भेट्ने र फोटो खिच्ने कुरा हुन्थ्यो होला । त्योभन्दा बढी समय थिएन ।’
‘क्लाइमेक्स’ को प्रतीक्षामा रहेका उनको राजनीतिक नियात्रा यसपालि अपूरो नै रहेको छ । तर, मोदीसँगको भेट हुन नसकेको विषयलाई कसरी मूल्यांकन गर्ने भन्ने विषयमा उनी अझै अलमलमा छन् । उनले भेट अन्तिममा रद्द भएको बताए पनि स्वकीय सचिव रमेश मल्लले भने मोदीसँग भेटघाट भ्रमणको तालिकामा नरहेकाले भेट भएन भन्न नमिल्ने प्रतिक्रिया दिए ।

‘भाजपा अध्यक्ष नड्डाजीसँग भेटघाट भ्रमणको प्रमुख एजेन्डा थियो, मोदीजीसँग समय मिलेको खण्डमा भेट हुने सम्भावना वा अनुमान मात्रै गरिएको थियो,’ उनले कान्तिपुरसँग भने ।

दाहालले दिल्ली उत्रिएकै दिन विदेश सचिव विनयमोहन क्वात्रा तथा दोस्रो दिन विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका थिए । पहिलो रात विदेश सचिव क्वात्राले र दोस्रो रात भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले रात्रिभोज दिएका थिए । तेस्रो दिन आइतबार बिहान साढे ११ बजे दाहालले भाजपा अध्यक्ष नड्डालाई भेटेर अन्तर्क्रिया गरेका थिए ।

तर दाहालकै लागि पनि प्रतीक्षा भने मोदीसँगको भेटमै थियो । यद्यपि भारतीय पक्षले भने माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री मोदीसँग भेटघाटको तालिका नै नरहेको जनाएको छ । ‘प्रधानमन्त्रीजीको समय उपलब्ध भएमा भेटाउन सकिने कुरा भएको हुन सक्छ,’ दाहालको भ्रमण तयारीमा संलग्न एक भारतीय अधिकारीले भने, ‘सेड्युलमै नरहेको विषयलाई रद्द भन्न मिल्दैन ।’ उनका अनुसार सोमबार भारतमा राष्ट्रपतिको चुनाव रहेकाले र अन्य पूर्वनिर्धारित कार्यक्रम तथा व्यक्तिगत व्यस्तताले मोदीको समय मिल्न सक्ने स्थिति थिएन ।

दाहालले शनिबारको एक प्रवचन कार्यक्रममा सीमा विवाद, १९५० को सन्धि र ईपीजी प्रतिवेदनसम्बन्धी विषय कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने कुरा उठाएका थिए । त्यो प्रसंग अन्य भेटघाटमा पनि राखेको दाहाल स्वयम्ले बताएका छन् । त्यस्तै भैरहवा विमानस्थलको एयररुट तथा तराईको डुबानका विषयमा पनि कुरा राखेको उनले जनाएका छन् । त्यही कारण पनि मोदीसँगको भेटघाट मिलाउन विदेश मन्त्रालयले अनिच्छा देखाएको भारतीय पत्रकारहरूको विश्लेषण छ । त्यस्तै नेपालमा सन्निकट चुनावअघि कुनै एक दलका नेतासँग प्रधानमन्त्रीले भेट्नु बेठीक हुने भन्ने विषयमा पनि दिल्लीमा चर्चामा छ । ‘अहिले दाहालसँग भेट्दा भोलि भाजपाको निमन्त्रणामा आएका अन्य पार्टीका अध्यक्षलाई पनि मोदीले भेट्नुपर्ने अवस्था सिर्जना हुन सक्छ,’ दाहालको भ्रमणको रिपोर्टिङ गरिरहेका भारतीय पत्रकारहरूको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।