NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सुष्मिताबारे पूर्वप्रेमी विक्रमले भने, ‘उनी गोल्ड डिगर होइन, लभ डिगर हुन्’

एजेन्सी । बलिउड अभिनेत्री सुष्मिता सेन हिजोआज चर्चामा छिन् । इण्डियन प्रिमियर लिगका संस्थापक ललित मोदीसँगको ‘लभ लाइफ’का कारण चर्चामा रहेकी सुष्मिता यतिबेला सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेकी छिन् । उनलाई ‘गोल्ड डिगर’ अर्थात पैसाका पछि लाग्ने भन्दै ट्याग भिराइएको छ । उनलाई लगाइएको यो उपनामको विरोधमा हालै उनका पूर्वप्रेमी विक्रम भट्ट पनि बचाउमा उत्रिएका छन् ।

आफूसँग पैसा नभएको कठिन अवस्थामा पनि सुष्मिताले साथ दिएको भन्दै विक्रमले पुराना अनुभव साझा गरेका छन् । विक्रमले भने, ‘सुष्मिता कसैलाई प्रेम गर्नु पहिले उसको बैंक ब्यालेन्स हेर्ने संसारकै अन्तिम व्यक्ति होलिन् । जतिबेला म चलचित्र गुलामको निर्देशन गरिरहेको थिएँ, त्यतिबेला मसँग पैसा थिएन । त्यतिबेला सुष्मिताले मलाई अमेरिका लिएर गइन् र मेरो ट्रिपको सबै पैसाको जिम्मा उनैले लिइन् । यो कुरा म कहिल्यै बिर्सन सक्दिन । जब हामी लस एन्जलस पुग्यौं, त्यहाँ पुग्नेबित्तिक हाम्रो स्वागतका लागि बसेको लिमोजिन कार देखेर म चकित भएको थिएँ । त्यतिबेला सुष्मिताले अमेरिकामा मेरो इन्ट्री सानदार बनाउन चाहेको बताएकी थिइन् ।’

त्यसअघि विक्रमले भने, ‘सुष्मिता गोल्ड डिगर होइन बरु लभ डिगर हुन् । कसैको जीवनबारे मजाक उडाउनु अर्को व्यक्तिका लागि रमाइलो हुन सक्छ । कसैसँग भएको विछोड पनि व्यक्तिका लागि सधैं मजाकको विषय बन्दै आएको छ । सैफ अलि खानसँग विवाह गर्दा पनि करिना कपुर ट्रोलको शिकार बनेकी थिइन् । मलाई लाग्छ यो साथदिने समय हो । यहाँ त सेलिब्रेटीले गरेका केही निर्णय उसका फ्यानलाई हाँसो लाग्नेबित्तिकै ट्रोलको शिकार बन्नुपर्छ ।’

सामाजिक सञ्जालमा आफूलाई ‘गोल्ड डिगर’को उपमा दिएकोबारे सुष्मिताले प्रतिक्रिया दिइसकेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘पछिल्ला केही दिनयता मलाई गोल्ड डिगर भनिएको छ । सामाजिक सञ्जालमा मलाई यसलाई ट्रोल पनि गरिएको छ । तर मलाई यी मजाकसँग कुनै मतलब छैन । मसँग सुनभन्दा निकै गहिरोसँग खन्न सक्ने तागत छ । किनभने म हिरा मन पराउँछु ।’

उनी थप लेख्छिन्, ‘ म सुनभन्दा हिरा छनोट गर्न रुचाउँछु र म अझै पनि ती हिरा आफ्नै लागि आफैं किन्न सक्छु । कतिपय बुद्धिजीवीले मलाई गोल्ड डिगर भनेका छन्, यसले उनीहरूको सानो सोचलाई दर्शाउँछ । यी व्यक्तिहरूबाहेक मलाई मेरा फ्यान र परिवारको पूर्ण समर्थन छ । म सूर्य जस्तै हुँ, आफ्नो अस्तित्व र विवेकमा आफैंमा केन्द्रित छ ।’

विक्रम र सुष्मिता दुई वर्षसम्म प्रेम सम्बन्धमा रहे । दुवैजनाको पहिलो भेट चलचित्र ‘दस्तक’ को सुटिङको समयमा भएको थियो । त्यही समयबाट दुवैले एकअर्कालाई डेट गर्न थाले । सुष्मिताभन्दा सात वर्ष जेठा विक्रमसँग उनको त्यतिबेला विवाहइतर सम्बन्ध रहेको बताइन्छ ।