NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

श्रीलंकामा रनिल विक्रमासिङ्घे बने नयाँ राष्ट्रपति

काठमाडौं । श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिङ्घेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । रनिल विक्रमासिङ्घेले १३४ मत पाएका छन् भने प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाए ।

राष्ट्रपतीय निर्वाचनमा कुल २२३ सांसदले मतदान गरेका थिए भने २ सांसद मतदानमा अनुपस्थित छन् । २२३ मतमध्ये २१९ मत वैध मानिएको छ भने चार मत बदर भएको छ ।

राष्ट्रपति निर्वाचनमा विजयी भएपछि संसदलाई सम्बोधन गर्दै रनिलले सबै दललाई मिलेर काम गर्न अपिल गर्दै श्रीलंकालाई यो संकटबाट बाहिर निकाल्न आग्रह गरेका छन् ।

यसैबीच उनले बिहीबार सबै दलसँग बसेर वार्ता गर्ने बताए । गोटाबाया राजपाक्षेले श्रीलंकाबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो ।

रनिलको कार्यकाल नोभेम्बर २०२४ मा समाप्त हुनेछ । उनले गोटाबाया राजपाक्षेको बाँकी कार्यकाल पूरा गर्नेछन् । जुलाई १३ मा श्रीलंकाका राष्ट्रपति गोटाबाया देश छाडेर माल्दिभ्स हुँदै सिंगापुर गएका थिए । त्यसपछि राष्ट्रपतिको जिम्मेवारी रनिलले लिएका थिए ।

अब संसदले पनि उनलाई राष्ट्रपतिमा अनुमोदन गरेको छ । यसअघि गोटाबायाका भाइ महिन्दा राजपाक्षेले प्रधानमन्त्रीको कुर्सी छोडेका थिए र त्यसपछि उनी कहाँ बेपत्ता छन् भन्ने आधिकारिक जानकारी छैन ।

गत साता शनिबार श्रीलंकाका सर्वसाधारणले राष्ट्रपति भवनमा हमला गरी कब्जामा लिएका थिए । तर, प्रधानमन्त्री रनिल विक्रमासिङ्घे श्रीलंकामा पनि अलोकप्रिय छन् र उनको निजी निवासमा पनि आक्रोशित भीडले आगजनी गरेको छ ।