NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

हचुवाका भरमा कर्मचारी कटौती गर्दा टेकु अस्पतालको २१ बेड आइसियू बन्द

काठमाडौं । दरबन्दीअनुसार कर्मचारी नभएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा एकैपटक करारका ६८ कर्मचारी पनि कटौती गरिएको छ । देशको एक मात्र सरुवारोग अस्पतालमा कोरोना कालमा थपिएका २१ बेड आइसियू पनि कर्मचारी कटौतीसँगै बन्द भएका छन् ।

कोरोनाअघि तीन बेड आइसियू र भेन्टिलेटर रहेकामा संक्रमितको चाप बढेसँगै २४ पुर्‍याइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३१ असारमा निर्णय गर्दै १ साउनदेखि करारका सबै कर्मचारी कटौती गरेपछि विगतमा प्रवाह हुँदै आएको सेवा दिन सकस भएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।

‘करारका ६८ कर्मचारीको म्याद नथपिएपछि बिरामीले निःशुल्क पाउने २१ बेड आइसियू सेवा दिन नसकिने अवस्था आयो । अब बिरामी धेरै आए पनि तीनवटाभन्दा धेरै आइसियू बेड चलाउन सकिँदैन । पिसिआर सेवा पनि पहिलेजस्तो दिन सक्ने अवस्था छैन । अस्पतालको सेवा प्रवाहमा सकस भएको छ,’ उनले भने ।

निजी अस्पतालमा आइसियू र भेन्टिलेटरमा बसेको एकै दिनको ४० हजारभन्दा बढी तिर्नुपर्छ ।

कर्मचारी कटौतीसँगै अस्पतालले रेबिजविरुद्धको इमुनोग्लोबुलिन भ्याक्सिन सेवा पनि बन्द गरेको छ । यो भ्याक्सिन बिरामीमा गम्भीर घाउ भएको जटिल अवस्थामा दिइन्छ, जुन रेडिमेड एन्टिबडी हो । निजी अस्पतालले यो भ्याक्सिनका लागि एक लाखसम्म शुल्क लिन्छन् । कर्मचारी अभाव भएको भन्दै टेकु अस्पतालले मंगलबारदेखि कोरोनाविरुद्धको भ्याक्सिन सेवा पनि बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

टेकु अस्पतालका अनुसार हटाइएका जनशक्तिमा तीन चिकित्सक, दुई रेडियोग्राफर, पाँच ल्याब टेक्निसियन, पाँच हेल्थ असिस्टेन्ट, एक नर्सिङ अधिकृत, १९ स्टार्फ नर्स, एक बायोमेडिकल टेक्निसियन, दुई सहचालक र ३० कार्यालय सहयोगी छन् ।

कोरोना बढ्दा स्थायी कर्मचारी अभावसँगै यी कर्मचारी भर्ना गरिएका थिए । अस्पतालका आकस्मिक सेवा विभाग प्रमुख लीलानाथ भण्डारी कर्मचारी कटौतीले नियमित सेवा प्रभावित भएको बताउँछन् ।

स्वास्थ्यसचिव डा. रोशन पोखरेलले आवश्यक परे करारमा कर्मचारी राख्न सकिने बताए । ‘अहिले करारका कर्मचारी चाहिँदैन, आवश्यक परे फेरि राख्न सकिन्छ,’ उनले संक्षिप्त प्रतिक्रया दिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।