NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

पासाङल्हाम्मु राजमार्ग स्तरउन्नती नभए आन्दोलन गर्छौं : हितबहादुर तामाङ

काठमाडौं । माओवादीका नेता तथा पूर्वमन्त्री हितबहादुर तामाङले छहरे–टोखा सुरुङमार्ग बनाउन सरकारले बजेट नछुट्याएकोमा असन्तुष्ट व्यक्त गरेका छन् ।
नुवाकोटबाट निर्वाचित सांसदसमेत रहेका उनले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै तत्काल बजेट व्यवस्था गर्न सरकारसँग माग गरे । शक्तिशाली मुलुक चीनसँग जोडिने यस सडकखण्ड बनाउन सरकारले बजेट नछु्ट्याउनु गम्भीर भएको उनले बताए ।

त्यस्तै बालाजु–रानीपौवा–पिपलटार पासाङल्हाम्मु राजमार्ग स्तरउन्नती नगरेकोमा उनले आपत्ति जनाएका छन् । देशकै पुरानो राजमार्ग अलपत्र हुँदासमेत सरकारले कुनै चासो नदिएको उनले आरोप लगाए ।

‘सडक स्तरउन्नतीका लागि स्थानीयहरूले पटक–पटक सरकारको ध्यानाकर्षण गरे । सडकमै धान रोप्ने काम गरे । आन्दोलनबाटसमेत सरकारको ध्यानकर्षण नभएपछि उच्च अदालतमा मुद्दासमेत दायर भयो’, उनले भने, ‘हामीलाई आशा थियो अदालतले तत्काल काम अगाडि बढाउन सरकारलाई आशा दिनेछ तर उल्टै रिट निवेदन खारेज गर्यो । जनताको धैर्यताको बाँध टुट्न लागेको छ सरकार, तत्काल माग सुनुवाइ होस् ।’

जनतासँग प्रत्यक्ष जोडिएका यी राजमार्ग बनाउन सरकारले ध्यान नदिए आन्दोलन गर्ने तामाङले चेतावनी दिए ।