जुँगा पाल्ने यी महिला भन्छिन् – मलाई मेरो जुँगा मन पर्छ

काठमाडौं । भारतमा जुँगा पाल्ने एक महिलाले अनलाइनमा प्रशंसा र आलोचना दुवै पाएकी छिन् । तर उनी आफ्नो अनुहारको रौंबारे अरूले के भन्छ भनेर चिन्तित नभएको बताउँछिन् ।
३५ वर्षीया शिजाले आफ्नो ह्वाट्सएप स्टेटसमा आफ्नो तस्विर राख्दै भनेकी छिन्, ‘मलाई मेरो जुँगा मन पर्छ ।’ शिजा आफ्नो नामको पछाडि थर जोड्दिनन्। उनी दक्षिण राज्य केरलाको कानपुर जिल्लामा बस्छिन् ।
उनको ओठमाथि रौं उम्रिएको धेरै वर्ष भइसक्यो ।
उनले आफ्ना आँखीभौं त थ्रेडिङ गरेर मिलाउँछिन् तर आफ्नो ओठमाथिका रौं फाल्न उनले कहिल्यै आवश्यक ठानिनन् ।
करिब पाँच वर्षअघिदेखि उनको जुँगा बाक्लिँदै गयो र त्यसबाट हर्षित शिजाले त्यसलाई पाल्ने विचार गरिन् । उनी भन्छिन्, ‘अहिले म जुँगाविना बाँच्ने कल्पना पनि गर्न सक्दिन । जब कोभिड महामारी सुरु भयो, मलाई सधैं मास्क लगाउन मन लागेन किनभने त्यसले मेरो अनुहार छाेप्थ्याे ।’
धेरैले उनलाई जुँगा हटाउन पनि आग्रह गरे तर शिजाले भने मानिन् । उनी भन्छिन्, ‘मेरो जुँगा भएका कारण म नराम्री भएकी छु भन्ने मलाई लाग्दैन, जुँगा मसँग हुनु हुँदैन भन्ने पनि लाग्दैन ।’
महिलाहरूलाई प्रायः अनुहारमा उम्रिएका रौंहरू आवश्यक छैनन् त्यसैले फाल्न भनिन्छ । पैसा तिर्न सक्ने महिलाहरूका लागि रौं हटाउने अनेक उपाय छ ।
हेयर रिमूभर उत्पादनहरू अरबौंको उद्योग हो र तिनीहरूले महिलाका लागि क्रिम, मोम स्ट्रिपहरू, रेजर र एपिलेटरहरू बनाउँछन् ।
तर हालैका वर्षहरूमा, धेरै महिलाहरूले यस्तो प्रवृतिलाई उल्टाउने निर्णय गरेका छन् र आफ्नो अनुहारमा रौं राख्न रुचाउँछन् । सन् २०१६ मा शरीर प्रति सकारात्मक हुने अभियान चलाउने हरनाम कौरले सबैभन्दा सानो उमेरमा आफ्नो पुरै दाह्री राखेर गिनिज बुक अफ वर्ल्डमा रेकर्ड राखिन् ।
उनी वर्षौंदेखि स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन् । विगत दश वर्षमा शिजाले छवटा शल्यक्रिया गरिसकेकी छिन् । उनले स्तन र डिम्बाशयकाे सिस्ट हटाउने शल्यक्रिया गरिन् । उनको अन्तिम शल्यक्रिया पाँच वर्षअघि हिस्टेरेक्टोमी (पाठघर हटाउने) थियो ।
उनी भन्छिन्, ‘जब म शल्यक्रियापछि निको हुन्छु, फेरि अपरेशन थिएटरमा नजाने आशा गर्छु ।’ धेरै स्वास्थ्य समस्याबाट बाहिर आएर शिजा बलियो बनेकी छिन् । उनले आफूलाई खुसी बनाउने जीवन जिउनुपर्छ भन्ने विश्वास गर्छिन् ।
शिजा हुर्किँदा लजालु स्वभावकी थिइन् । केरला भारतको एक प्रगतिशील राज्य हो र पनि धेरै क्षेत्रमा पितृसत्तात्मक मनोवृत्ति कायम छ, र महिलालाई एक्लै यात्रा गर्न वा एक्लै बस्न हतोत्साहित गरिन्छ ।
विवाहपछि छिमेकी राज्य तमिलनाडुमा बसाइँ सरेपछि नयाँ प्रकारको स्वतन्त्रता पाएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘मेरो श्रीमान् काममा जानुहुन्थ्यो र घर ढिलो आउनुहुन्थ्यो । त्यसैले म साँझ घरबाहिर बस्ने गर्थे, कहिलेकाहीँ केही चाहिएमा राति एक्लै पसलमा जान्थें । त्यहाँ कसैको वास्ता थिएन । यसरी मैले आफ्नो काम गर्न सिकें, मेरो आत्मविश्वास बढ्दै गयो ।’
उनले आफ्नी छोरीलाई पनि यही सिकाइरहेकी छिन् ।
शिजाको परिवार र साथीहरूले उनको जुँगा पाल्ने इच्छालाई समर्थन गर्छन् । शिजाकी छोरीले पनिज उनलाई जुँगामा सुहाएको बताउँछिन् । तर बाहिर निस्किँदा मानिसहरुले अनेक टिप्पणी गर्ने गरेको शिजा बताउँछिन् । उनी सामाजिक सञ्जालमा आउने नकारात्मक प्रतिक्रियालाई खासै चासो नदिने बताउँछिन् ।
प्रतिक्रिया