राप्तीसोनारीका बस्ती कटान र डुबानको जोखिममा
बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ८ र ९ का बस्ती डुबान तथा कटानको जोखिममा रहेका छन् । वडा नं ९ मा बग्ने चुके र भक्ताखोला तथा वडा नं ८ मा बग्ने रिम्नाखोलाका कारण करिब आधा दर्जन गाउँका बस्ती र खेतीयोग्य जमिन कटान तथा डुबान हुँदै आएको छ ।
वर्षा हुनासाथ राप्तीसोनारी–९ मा चुकेनाला र भक्तानालामा पानीको बहाव बढेपछि कटान र डुबान हुने गरेको वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए । उनका अनुसार राप्तीसोनारी–९ को खैरी, बुचापुर र उद्दैन क्षेत्रमा चुकेनाला तथा गुरुवागाउँ, ढकेरी क्षेत्रमा भक्तानालाले खेतीयोग्य जमिन कटान तथा डुबान गर्दै आएको छ । बाढीले कटान र डुबान गरेका कारण यी गाउँमा बर्सेनि खेतीयोग्य जमिन बगरमा परिणत हुने गरेको छ ।
खोलामा डाइभर्सन र तटबन्ध हुन नसक्दा सयौँ बिघा खेतीयोग्य जमिन कटान हुन पुगेको छ । वडा तथा गाउँपालिकास्तरको बजेटबाट डुबान तथा कटान रोकथामको प्रयास हुन नसक्ने भएकाले प्रदेश र सङ्घीय सरकारसँग खोला डाइभर्सन र तटबन्धका लागि बजेट माग गरिएको वडाध्यक्ष थारूले बताए ।
प्रदेश सरकारबाट रु २५ लाख बजेट विनियोजन भए पनि खोलाको कटान रोकथामका लागि उक्त बजेट अपर्याप्त हुने भएकाले थप बजेट विनियोजनका लागि आवश्यक पहल गरिएको उनको भनाइ छ । राप्तीसोनारीकै वडा नं ८ मा पर्ने नयाँगाउँ क्षेत्र रिम्नाखोलाको बाढीका कारण कटान र डुबानमा पर्दै आएको छ । रिम्नाखोलाका कारण नयागाउँका ४२ घरपरिवारको करिब ७० बिघा खेतीयोग्य जमिन कटान भएको स्थानीय अगुवा यमराज थारूले जानकारी दिए ।
वडा नं ८ मा पर्ने झिझरी र परुवाखोलाले पनि खेतीयोग्य जमिन कटान तथा डुबान गर्दै आएका छन् । जनताको खेतीयोग्य जमिन कटान रोकथाम तथा बस्ती डुबानबाट जोगाउन आवश्यक पहल गरिए पनि बजेट अभावले बर्सेनि समस्या बल्झिँदै आएको राप्तीसोनारी–८ का वडाध्यक्ष शालिकराम डाँगीले बताए ।
उनले बस्तीमा डुबान र खेतीयोग्य जमिनको कटान रोकथामका लागि सिक्टा सिँचाइ आयोजना र सडक डिभिजनसँग समन्वय गरिएको जानकारी दिए ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया