घर भत्काइएका व्यक्तिलाई क्षतिपूर्ति दिन अदालतको आदेश
धनुषा । जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा रु सात लाख क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ । उच्च अदालतका कामु मुख्य न्यायाधीश विनोद शर्मा र न्यायाधीश विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले उनीहरुमाथि अदालतको अवहेलना गरेको र एक व्यक्तिको घर जानीजानी भत्काउन आदेश दिएकोमा जनही रु तीन लाख पचास हजारका दरले दुवै जनाबाट रु सात लाख क्षतिपूर्ति भर्न आदेश जारी गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने चन्देश्वर साहको तत्कालीन धनुषा बेंगाशिवपुर गाविस वडा नम्बर ७ (हाल जनकपुरधाम उपमहानगरपालिका) खको कित्ता नम्बर सात सय ७५ को २ कट्ठा १७ धुरमा रहेको एकतल्ले पक्की घरमा रहेको गिर्जा सेलर मिलसहितको घर भत्काउन थालेपछि २०७६ भदौ २४ मा निषेधाज्ञा मुद्दा दायर गरिएको थियो ।
सो घर भत्काइएपछि चन्देश्वरले १५ लाख ८९ हजार नौ सय मूल्य बराबरको घर पूर्णरुपमा क्षति भएको दाबी गर्दै विपक्षी जनकपुरधाम उपमहानगरका तत्कालीन प्रमुख साह र उपप्रमुख मिश्रसहित चार जनाविरुद्ध क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेका थिए ।
विपक्षी जनकपुरधाम उपमहानगरपालिका–१८ का वडाध्यक्ष रामअशिष पजियार र वीरेन्द्र पासमानको हकमा प्रमाण नपुगेको भन्दै अदालतले सफाइ दिएको छ । सडक विस्तार गर्ने क्रममा २०७६ मा जनकपुरधाम उपमहानगरले सडक छेउका अधिकांश घर भत्काएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया