NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बाल संगठन र ससुराली मिलेर छोरा बेचिदिए, बाबु न्यायका लागि भौतारिँदै

काठमाडौं । बाबु नक्कली । बाबुको मृत्युदर्ता प्रमाणपत्र पनि नक्कली । सोही कागजात प्रयोग गरी ससुरालीले नै छोरा विदेशीलाई धर्मपुत्रका रूपमा बेचिदिएपछि सक्कली बाबु यतिबेला बेचैन छन् ।

झापा मेची नगरपाकिला–८, पाथीभराका ४९ वर्षीय चन्द्रकुमार विष्टका एक्ला छोरा हुन्, गौरव । उनलाई उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित मामाघरकी हजुरआमा टंककुमारी रेग्मी र सहोदर मामाहरूले १६ वर्षअघि नै धर्मपुत्रका रूपमा स्पेनिस नागरिकलाई बेचिदिएका थिए । जब उनले त्यसबारे खबर पाए, अहिले बेचैन बनेका छन् ।

एक साताअघिसम्म छोरा गौरव मामाघरमा छ र एक दिन बाबु खोज्दै घरमा आउने उनमा विश्वास थियो । ‘छोरा मामाघरमै छ र बाबु खोज्दै एक दिन मकहाँ आउँछ भन्ने आसमा थिएँ । तर मेरो छोरालाई १६ वर्षअघि नै बेचिदिएछन् । यो समाचार आएपछि म छाँगाबाट खसेझैं भएको छु । अबै मैले छोराको मुख हेर्न कहिल्यै पाउँदिनँ होला ,’ उनले भने ।

यसबीचमा उनले छोरा प्राप्तिका लागि अनेक लडाइँ लडे । छोरा लिन जाँदा धेरैपटक जेठान र सालाले मुख थुके । गरीब भनेर हेप्नु हेपे । लाख कोसिस गर्दा पनि छोरो ल्याउन नसकेपछि उनी निराश भएर झापा फर्के । ससुरालीबाट धेरैपटक अपमान भएपछि उनले आउजाउ चटक्कै छाडे । तर छोरा पछ्याउन भने छाडेनन् । छोरा बाल संगठनको संरक्षणमा पुगेको थाहा पाएपछि काठमाडौं आए । फिर्ता लैजान हारगुहार गरे । जेठान वसन्तराज रेग्मीसँग अनेक बिन्ती गरे । अर्कैसँग विवाह गरेर गएकी श्रीमती कमला सुवेदीसँग बिलौना गरे । सबै प्रयास असफल भएपछि उनी निराश भएर झापा फर्किए ।

छोरा बाल मन्दिरमै रहेकाले सकुशल नै होला भन्नेमा उनी ढुक्क थिए । तर बाल मन्दिरकै मिलेमतोमा छोरा बेचिएको खबरले चन्द्र पीडामा छन् । ‘कमला मेरी श्रीमती हो । हाम्रो सम्बन्ध राम्रो थिएन । पछि उनले अर्कैसँग विवाह गरिन् । मेरो पनि विवाह भयो । तर छोरा मामाघरमै थियो । सँगै लैजान म कैयौंपटक ससुराली गएँ । हारगुहार गरेँ । तर सकिनँ । अहिले छोरा बेचिएको खबरले निदाउनसमेत सकेको छैन,’ उनले दुःखेसो गरे ।

दुई वर्षको प्रेमपछि उदयपुर त्रियुगाकी कमला रेग्मीसँग चन्द्रले विवाह गरेका थिए । मायाको निशानीस्वरूप मामाघरमै गौरवको ९ पुस ०५५ मा जन्म भएको थियो । चन्द्र उदयपुर–काठमाडौं चल्ने बसका सहचालक थिए । उनका साथी थिए, कमलाका भाइ सरोज रेग्मी । सरोजसँगै उनी कमलाको घर आउजाउ गर्थे । यहीक्रममा दुईबीच प्रेम बसेको थियो । चन्द्र आर्थिक रूपमा कमजोर थिए । त्यसैले ससुरालीसँग आफ्नो सम्बन्ध सुमधुर हुन नसकेको उनी सुनाउँछन् । पछि श्रीमतीसँग पनि उनको सम्बन्ध बिग्रियो । यहीबीच उनले अर्कैसँग विवाह गरे । कमलाले पनि दोस्रो अध्याय सुरु गरिन् । तर छोरालाई भने उनले बिर्सन सकेका थिएनन् । अहिले चन्द्र झापामा बस्छन्, कमला हेटौंगामा १६ वर्षपछि दुवैलाई बेचिएको छोरा गौरवको मायाले एउटै बिन्दुमा ल्याएर उभ्याइदिएको छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।