NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

निर्वाचन क्षेत्रको दोधारमा प्रचण्ड : चितवन बस्लान् कि रुकुम-रोल्पा पस्लान् ?

काठमाडौं । केपी ओली नेतृत्वको सरकार गिराउनमा महत्वपूर्ण भूमिका खेलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान गठबन्धन सरकारका प्रमुख योजनाकार हुन् । सरकारको नेतृत्व शेरबहादुर देउवाले लिए पनि अहिले सत्ताको चाबी उनकै हातमा छ ।

सरकारले मंसिर ४ मा घोषणा गरेको प्रतिनिधिसभा निर्वाचबाट माओवादीलाई दोस्रो दल बनाउने रणनीति प्रचण्डको छ । जसलाई मूर्तरूप दिन उनले अहिलेदेखि नै राजनीति गोटी चालिरहेका छन् ।

अस्थिर प्रचण्डको अस्थिर निर्वाचन क्षेत्र

अघिल्लो निर्वाचनमा जस्तै योपटक पनि प्रचण्ड जता ढल्कियो, त्यतै बहुमत पुग्ने देखिन्छ । त्यसैले उनी आफूअनुकुल रणनीति बनाउन व्यस्त छन् । राजनीतिमा जुनसुकै बेला जस्तोसुकै जोखिम मोल्न सक्ने प्रचण्ड स्वयंका लागि आगामी निर्वाचन निकै चुनौतीपूर्ण हुने देखिएको छ । प्रचण्ड निर्णय क्षमतामा जति गतिशील छन्, त्यति नै निर्वाचन क्षेत्र परिवर्तन भएका छन् । ०४५ सालदेखि निरन्तर पार्टी नेतृत्वमा रहेर विघटन र गठनमा रेकर्ड राखेका उनले निर्वाचन क्षेत्र परिवर्तनमा पनि रेकर्ड राख्दै छन् । राष्ट्रिय राजनीतिमा प्रचण्डलाई पर्यटक उम्मेदवारको रूपमा चित्रण गरिन्छ । रोचक कुरा, गणतन्त्र स्थापनापछिको १५ वर्षमा भएका तीन निर्वाचन (२ पटक संविधानसभा र एकपटक प्रतिनिधिसभा) मा उनी एउटै निर्वाचन क्षेत्रमा दोहोरिएका छैनन् ।

२०७४ को निर्वाचनमा चितवन ३ बाट प्रचण्डले ४८ हजार २७६ मत ल्याई जित निकालेका थिए । राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए । उनको मतान्तर ९ हजार ३३८ थियो । त्यतिबेला प्रचण्ड एमालेसँग तालमेल गरेर चुनावमा होमिएका थिए भने पाण्डेलाई कांग्रेसको साथ थियो ।

शान्ति प्रक्रियापछि ०६४ मा भएको संविधानसभा निर्वाचनमा पहिलोपटक उनले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । विद्रोही सेना विघटन नगरी निर्वाचनमा भाग लिएको माओवादीले अनपेक्षित जनसमर्थन हासिल गरेको थियो । प्रचण्डकै चलाखीका कारण ६०१ सिटमा २२९ माओवादीको पोल्टामा परेको थियो । त्यतिबेला रोल्पा २ र काठमाडौं १० बाट निर्वाचनमा भाग लिएका उनले दुवै क्षेत्रबाट अत्यधिक मतले जितेका थिए ।

दुईमध्ये एक निर्वाचन क्षेत्र रोज्नुपर्ने कानूनी बाध्यताका कारण जनयुद्धको उदगम रोल्पा छाडेका प्रचण्ड लोकतान्त्रिक गणतन्त्रका पहिलो शक्तिशाली प्रधानमन्त्री बन्न सफल भए । तर उनको कार्यकाल उनकै भाषामा झिलिमिलीमै बित्यो । जनअपेक्षा अनुसार काम नभएकोमा जनता निराश देखिए । तत्कालीन प्रधानसेनापति रुकमांगद कटुवाल प्रकरणमा असफल भएपछि ९ महिना नपुग्दै पदबाट राजीनामा दिन उनी बाध्य भए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० र सिराहा ५ बाट निर्वाचनमा भाग लिए । यसमध्ये काठमाडौं १० मा उनले शर्मनाक हार बेहोरे । सिराहा–५ मा कडा प्रतिस्पर्धाबीच उनी झिनो मतान्तरले जित निकाल्न सफल भए । त्यहाँ १५ हजार २४४ मतका साथ प्रचण्ड विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठले १४ हजार ३२३ मत पाएका थिए ।

यो निर्वाचनमा प्रचण्डको मात्र नभएर उनको पार्टीकै चिलबिल भएको थियो । देशभरबाट मात्रै २५ सिटमा मात्र विजयी भएको थियो । एमालेले बाकस साटेर प्रचण्डले निर्वाचन जितेको अरोप लगाउँदै आएको छ । देशभर माओवादीको शर्मनाक हारपछि अत्तालिएका प्रचण्डले त्यसपछि कहिले एमाले त कहिले कांग्रेसँग मिलेर आफ्नो सिट सुरक्षित गर्दै आएका छन् ।

निर्वाचन परिणामले झस्किएका प्रचण्ड ०७४ को आमनिर्वाचनमा एमालेसँग कुम जोड्न पुगे । चुनावी तालमेलसहित ६१ र ३९ को भागबण्डा गरेका प्रचण्डले आफ्नै गृह जिल्ला चितवन ३ रोजे । प्रचण्डका लागि भोट माग्नका लागि एमाले अध्यक्ष ओलीसमेत पटक–पटक चितवन पुगेका थिए । ०७४ मै भएको स्थानीय तह निर्वाचनमा कांग्रेससँग मिलेर उनले छोरी रेनुलाई भरतपुर महानगरपालिकाको मेयर जिताउन सफल भएका थिए ।

जनयुद्धको योद्धाहरूलाई पाखा लगाएर चरम परिवारवादमा फसेको आरोप खेप्दै आएका प्रचण्ड एमालेको सहयोगमा अत्यधिक मतले विजयी भए । तर आलोपालो सरकार र पार्टी सञ्चालनको विषयमा ओलीसँग विवाद हुँदा ओली सरकार ढल्यो । उनले माधव नेपालको सहयोगमा देउवा नेतृत्वमा सरकार बनाए ।

प्रचण्डको कदमबाट चिडिएका ओलीले योपटक चितवनबाट उनलाई हराउने रणनीति बनाएका छन् । स्थानीय तह निर्वाचनमा गठबन्धनकै सहयोगमा छोरी रेनुलाईलाई पुनः मेयरमा जिताउन सफल भएका उनी अहिले आफ्नो सिट सुरक्षित गर्ने रणनीतिमा छन् । राजनीतिमा अस्थिर स्वभावका प्रचण्ड आगामी निर्वाचन कताबाट उठ्छन् भन्नेमा सबैको चासो छ । ओली जसरी पनि प्रचण्डलाई चुनाव हराएर बदला लिने दाउमा देखिन्छन् । देउवा प्रचण्डले हारे गठबन्धन नै धरापमा पर्नेमा चिन्तित देखिन्छन् ।

पहिलेदेखि नै गिजोलिएको चितवनको राजनीतिले प्रचण्डलाई हराएर बदला लिन स्वतन्त्रदेखि पार्टीका नेताहरूसमेत दौडधुपमा लागेका छन् । तर आगामी निर्वाचन क्षेत्रबारे प्रचण्ड र उनको पार्टीले अहिलेसम्म मुख खोलेको छैन । आगामी निर्वाचनमा चितवन ३ प्रचण्डका लागि सुरक्षित नभएको राजनीतिक विश्लेषकको भनाइ छ ।

चितवन सुरक्षित नभए अन्य क्षेत्रबाट निर्वाचनमा भाग लिन उनी निकट नेताहरूले अनौपचारिक भेटघाटमा सुझाव दिएका छन् । संविधान अनुसार एक उम्मेदवारले एक निर्वाचन क्षेत्रमा मात्र भाग लिन पाउने व्यवस्था छ । चितवन भरतपुरमा आफ्नै छोरी मेयरमा निर्वाचित भए पनि प्रचण्डमाथि हेर्ने दृष्टिकोण राम्रो देखिँदैन । समानुपातिकमा बस्दा त्यसको नकारात्मक सन्देश जाने हुँदा प्रचण्ड प्रत्यक्षमै उठ्ने मनस्थितिमा छन् ।

‘अध्यक्ष कहाँबाट उठ्नुहुन्छ भन्नेबारे पार्टीले निर्णय गर्छ । अनौपचारिक छलफलमा चितवनबाट नै उहाँले उम्मेदवारी दिने मनस्थिति बनाउनुभएको छ,’ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने, ‘चितवनमा माओवादीको जनाधार राम्रै छ । आगामी निर्वाचनमा मूल नेतृत्व कोही पनि समानुपातिकमा बस्ने योजना छैन । माओवादी दोस्रो हुने हिसाबले माओवादीले सम्पूर्ण शक्ति निर्वाचन केन्द्रित गर्छ ।’

गोरखा, सिन्धुली, सिराहा, कास्की, रुकुम र रोल्पाका नेता तथा सांसदहरूले प्रचण्डलाई आफ्नो क्षेत्रबाट उम्मेदवारी दिन सुझाव दिइरहेका छन् । केही दिनअघि मात्रै गोरखा क्षेत्र नं. १ का सांसद हरिप्रसाद अधिकारीले प्रचण्डलाई भेटेरै आफ्नो क्षेत्रबाट चुनाव लड्न सुझाव दिएका छन् । जनयुद्धको आधार क्षेत्रसमेत रहेको गोरखामा प्रचण्डजस्ता राष्ट्रिय राजनीतिका प्रभावशाली शिखर व्यक्तित्वलाई ल्याउन पाए गोरखाको विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

‘प्रचण्ड जहाँबाट चुनावमा भाग लिए पनि जित्नुहुन्छ । आगामी निर्वाचनमा गोरखा १ बाट उठ्न मैले अनौपचारिक रूपमा सुझाव दिएको छु,’ उनले भने, ‘मेरो प्रस्तावमा उहाँ सकारात्मक हुनुहुन्छ । कुन निर्वाचन क्षेत्रबाट उठ्ने भन्नेबारे पछि पार्टीले निर्णय गर्ला ।’

सत्ता सन्तुलनमा खेल्न सिपालु प्रचण्ड एकपटक प्रधानमन्त्री बन्ने तीव्र चाहनामा छन् । यसैले चुनाव जित्नैपर्ने भएकाेले केहीले उनलाई माओवादीकाे आधारइलाका रूकुम वा राेल्पाबाट उठ्न पनि हाैस्याइरहेकाे बुझिएकाे छ ।

सिन्धुली २ का सांसदसमेत रहेका गजुरेलले निर्वाचन क्षेत्र परिवर्तबारे प्रचण्डलाई आफूले सुझाव नदिएको बताएका छन् । यद्यपि, गठबन्धनमा सिटबाँडफाँटमा सहमति भएपछि पार्टीको आधिकारिक उम्मेदवारबारे निष्कर्षमा पुग्ने उनले बताए । त्यस्तै, रुकुम र रोल्पाका नेताहरूले पनि आफ्नो क्षेत्रबाट उठ्न प्रचण्डलाई सुझाव दिएका छन् । तर आगामी निर्वाचनमा क्षेत्र परिवर्तनबारे उनले कुनै निष्कर्ष सुनाएका छैनन् । गोरखा, सिन्धुली, रुकुम, जाजरकोट, रोल्पालगायतका क्षेत्र तुलनात्मक रूपमा माओवादीका सुरक्षित क्षेत्र मानिन्छ ।

योपटक परम्परागत पार्टीका शीर्ष नेताहरूलाई स्वतन्त्र उम्मेदवारहरूले समेत चुनौती दिएकाले अगामी निर्वाचन थप रोचक बन्ने देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेतामध्ये एकलाई आफूले हराउने दाबी गरेका छन् । जनमत बटुल्नका लािग देश दौडाहामा निस्केका लामिछानेले सबैतिरको प्रतिक्रिया बुझेर उम्मेदवारी घोषणा गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनौती दिने भएका छन् । ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट उन्नत लोकतन्त्र पार्टीका संयोजक स्वागत नेपालले उम्मेदवारी घोषणा गरिसकेका छन् । काठमाडौंमा त स्वतन्त्र उम्मेदवारी दिनेको लहर नै चलेको छ ।

शक्तिशाली नेताको क्षयीकरण बाटो

माओवादी सशस्त्र युद्धमा प्रचण्डको नाम सुन्नेबित्तिकै विरोधीहरूको मुटु हल्लिन्थ्यो । १ फागुन ०५२ देखि ०६२ सम्म १० वर्षे सशस्त्र युद्धको सर्वोच्च कमाण्डर थिए, उनी ।

नेपालको माओवादी आन्दोलन नेपालमा मात्र होइन, युरोप र आमेरिकाजस्ता शक्तिशाली मुलुककोसमेत टाउको दुःखाइको विषय बन्यो । त्यतिबेला धेरैको अनुमान प्रचण्ड भन्ने पात्र नै नक्कली हुन् भन्ने थियो ।

उनको वास्तविक नाम पुष्पकमल दाहाल रहेको पार्टीका सीमित नेताबाहेक कसैलाई थाहा थिएन । युद्धका कारण नेपालमा १७ हजार नागरिकको ज्यान गयो । सयौं बेपत्ता र हजारौं अंगभंग भए । ०६२ मा तत्कालीन सात दल र विद्रोही माओवादीबीच भारतमा १२ बुँदे सहमति भएपश्चात् माओवादीले बाटो फेरेको थियो ।

२०६२/६३ को १९ दिने जनआन्दोलनले परम्परागत शक्ति केन्द्र राजसंस्था ढल्यो । विद्रोही माओवादी शान्तिपूर्ण राजनीतिको मूलधारमा आयो । मुलुकबाट कहालीलाग्दो युद्धको अन्त्य भयो । यद्यपि, शान्ति प्रक्रियाले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

२०६३ असार २ गते प्रधानमन्त्री निवास बालुवाटारबाट सार्वजनिक भएका प्रचण्ड त्यतिबेला निकै शक्तिशाली थिए । ३५ हजार विद्रोही सेनालाई क्यान्टोन्टमेन्टमा राखेका प्रचण्डसँग दोहोरो सवाल गर्ने आँट कसैसँग थिएन । राष्ट्रिय राजनीतिमा उनको प्रभुत्व ह्वात्तै बढेको थियो । माओवादीकै एजेण्डामा देशको राजनीति ध्रुवीकृत भएको थियो । उनकै वरिपरि देशको राजनीति घुमिरहेको थियो ।

काठमाडौंको टुँडिखेलमा उनले दिएको ओजपूर्ण भाषणले उत्तेजित भीडले सैनिक मञ्च नै घेराबन्दी गरेको थियो । प्रचण्डको विरुद्ध कसैले बोले कार्यकर्ताहरूले मिडियादेखि विपक्षी सबैलाई निसाना बनाउँथे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाले घेरिएका प्रचण्डका गतिविधिलाई विश्वभरिबाट निकै चासोका साथ हेरिएको थियो । तर जनमतबाट पाएको जिम्मेवारीलाई प्रचण्डले सम्हाल्न नसक्दा राजकीय सत्ता, माओवादी सेना विस्तारै उनको हातबाट फुत्किँदै गयो । कटुवाल प्रकरणबाट सुरु प्रचण्डको ओरालो यात्रा अद्यपि जारी छ ।

सत्ताको साँचो आफ्नो हतमा राख्ने प्रचण्डको कसरत

ओलीसँगको सम्बन्ध विच्छेद भएपछि कांग्रेसको सहयोगमा ओलीलाई गलाउने रणनीति बनाएका प्रचण्डले आगामी निर्वाचनपछिको सत्ताको चाबी आफ्नै हातमा राख्न रणनीति बनाएका छन् । मंसिर ४ को निर्वाचनपछि कांग्रेस पहिलो दल हुने अनुमान गरेका प्रचण्डले माओवादीलाई दोस्रो दलमा उभ्याउने गरी राजनीतिक गोटी चालेका छन् । कांग्रेसलाई साइजमा ल्याउन उनले कांग्रेसबाहेक अन्य दलका छुट्टै उपगठबन्धन बनाउने तयारी गरेका छन् ।

निर्वाचनअघि एउटै समाजवादी केन्द्र बनाएर जानेगरी राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । त्यही सिलसिलामा प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल, नेकपा समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकताका संयोजक वामदेव गौतमलगायत नेताहरूसँग चरणवद्ध छलफल गरिसकेका छन् ।

प्रचण्डको पहिलो योजना गठबन्धनको सहयोगमा एमालेलाई खुम्च्याउने रहेको छ । दोस्रोमा सत्तापक्षको छुट्टै मोर्चा बनाएर सिट बाँडफाँटमा कांग्रेसलाई दबावमा राख्ने । यति गर्न सकिएमा माओवादीको सहयोगबिना कांग्रेसले सरकार बनाउन नसक्ने अवस्थामा आउने प्रचण्डको बुझाइ छ । यति गर्न सकिए आगामी पाँच वर्षको राजनीति अफ्नै वरिपरि रहने प्रचण्डको अनुमान रहेको छ ।

सिट बाँडफाँटबारे सत्ता गठबन्धनमा सहमति भइसेको छ । पाँच दलबाट गठित कार्यदलले काम पनि सुरु गरिसकेको छ । फेरि एक कार्यकाल प्रधानमन्त्री बन्ने इच्छा देखाएका प्रचण्डले त्यहीअनुसार आफ्नो राजनीतिक गोटी चालेका छन् । तर उनको रणनीतिले कतिको सार्थकता पाउँछ, त्यो थाहा पाउन भने आगामी निर्वाचनको परिणामसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।