NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते
विचार

बितेका दशक र गुमेको अवसर

व्यक्ति, सङ्गठन वा राष्ट्रले आएका अवसरलाई ठीकसँग उपयोग गर्न सकेन भने त्यो सधैंका लागि गुम्न पुग्छ । अवसर सूचना वा सङ्केत दिएर आउने पनि होइन, परिवेश र प्रवृत्तिको सही आकलन र विश्लेषण गरेर नै अवसरको पहिचान र उपयोग गर्न सक्नुपर्छ । कसैले उपयोग गर्न नसकेको अवसर अर्कोले उपयोग गरिदिन्छ, किनकि अवसरले कसैलाई पर्खेर बस्दैन ।

अवसर आफैंमा प्रतिस्पर्धी विषय पनि हो । तर एउटा अवसरलाई सही उपयोग गर्न सकियो भने अरू अवसर ठम्याउन र उपयोग गर्न भने सजिलो पर्छ । अवसर समय भएकाले गतिशील हुन्छ । अवसर टोकियोबाट ओशाकाका लागि छुटेको शिन्कानसेन (बुलेट ट्रेन) जस्तै हो, छुट्यो त छुट्यो छुट्यो, घण्टौ नकुरी अर्को आउँदैन । चढ्नेहरू अरू थुप्रै टे«नमा अगाडि नै हुन्छन्, छुटेकाले पछिसम्म पछ्याइ रहने हो ।

एसिया अहिले आर्थिक रूपान्तरणको प्रक्रियामा तीव्रत्तर छ । सन् २०५० सम्ममा विश्वको कुल गार्हस्थ्य उत्पादनमा एसियाले आधा हिस्सा लिने अनुमान गरिएको छ । हाम्रा छिमेकी मुलुक चीन तथा भारत विश्वका दोस्रो तथा तेस्रो अर्थतन्त्र बन्ने महत्त्वकांक्षी कार्ययोजनामा छन् । यी दुईबाहेक जापान, सिंगापुर, तथा दक्षिण कोरियाजस्ता विकसित मुलुकहरू एवं मलेसिया, इण्डोनेसिया तथा थाइल्याण्डजस्ता उदीयमान अर्थतन्त्रहरूले उत्पादन तथा उत्पादकत्व सुधारमार्फत विश्व अर्थतन्त्रमा आफ्नो हिस्सा उल्लेख्य रूपमा बढाउँदै लगेका छन् । एसियाका सात अर्थतन्त्र यस शताब्दीका आधाआधीमा नपुग्दै यस शताव्दीलाई ‘एसियाको शताब्दी’ बनाउन प्रयत्नशील छन् । लाग्छ, यही प्रवृत्ति रहिरहेमा यो शताब्दी आर्थिक–औद्योगिक हिसाबमा एसियाकै हुनेछ । यी मुलुकहरू एसियालाई विश्व अर्थतन्त्रको केन्द्र बनाउन राष्ट्रिय कार्ययोजना, क्षेत्रीय सहयोग र विश्वव्यापी आबद्धताका रणनीतिमा छन् ।

अवसर टोकियोबाट ओशाकाका लागि छुटेको शिन्कानसेन (बुलेट ट्रेन) जस्तै हो, छुटेपछि छुट्यो छुट्यो

व्यक्तिको जीवन होस् वा राष्ट्रिय, सबैभन्दा महत्त्वपूर्ण कुरा समय हो । समयले ल्याउने अवसरबाट पाखा लाग्नु वा समयको गति पक्डिन नसक्नु अवसरबाट वञ्चितिमा पर्नु हो । त्यो वञ्चिति अरू कसैले नभएर आफैंले सिर्जना गरेको हो । नेपालको राष्ट्रिय जीवनमा यस्ता कैयन् अवसरहरू आए तर त्यसको गति र प्रवृत्ति (वेभ एण्ड पेस) पक्डिन नसक्दा पर्याप्त सम्भावनाबीच हामी अभावमा बाँचिरहेका छांै । पञ्चायतकालीन समयमा पञ्चहरू परिवेशले ल्याएका अवसर पक्डिनभन्दा राजाको परिक्रमा गरेर आफ्नै स्वार्थको अवसरमा रमाए । विश्वका सबैजसो विकासोन्मुख मुलुकहरू विकासको नयाँ ढाँचा आविस्कार गर्न केन्द्रित रहँदा पञ्चायती नेतृत्वले राष्ट्रिय जीवनको तीस वर्ष ख्यालख्यालमा गुमायो । समकालीन चीनका देङ, कोरियाका पार्क, इजिप्टका सादात, इण्डोनेसियाका सुकार्नो र सिङ्गापुरका यू सबैले पञ्चायतजस्तै निर्देशित व्यवस्थामा शासन सत्ता चलाए । प्रजातन्त्रका अवसर उनीहरूले पक्डिन नसके पनि विकासका अवसर भने पक्डिए । लोकतन्त्र र विकासमा कुन पहिला भन्नेमा विकासको मूल्य बढी देखे । सायद विकासको आधारशीलापछि लोकतन्त्र र मानव अधिकारलाई मजबुत बनाउन सकिन्छ भन्ने निष्कर्ष उनीहरूमा थियो । त्यो पनि एउटा सोच हो । यही सोचअनुरूप राष्ट्र निर्माणमा कतिपय अनुदार नेताहरू आफ्नो अनुदारताको क्षतिपूर्ति विकासमार्फत दिने गर्दछन् । अहिलेका उदीयमान अर्थतन्त्रहरूले इतिहासको खण्डमा यही ढाँचा अवलम्बन गरेका थिए । पार्क लोकतान्त्रिक थिएनन्, हत्या पनि भयो । तर कोरिया विकासका प्रणेता उनी नै भए । देङ पनि आधुनिक चीनका निर्माता बने । महाथिर पनि साह्रै प्रिय होइनन्, न लोकतान्त्रिक नै । तर मलेसियाले ‘टेक अफ’ उनकै समयमा लियो ।

निर्देशित व्यवस्थामा राजा र पञ्चले प्रजातन्त्र खोसे पनि देशलाई आर्थिक रूपमा समृद्ध बनाउने अवसर पाएका थिए । तर समयप्रति संवेदनशीलता देखाउन नसक्दा उनीहरूको समय राजतन्त्र र पञ्चायत संस्थागत गराउन बित्यो (न त्यसलाई पनि संस्थागत गराउन सके) । त्यसैले आधुनिक नेपालको जग हाल्ने तीन दशकको समय बित्थामा खेर गयो । कोही मन्त्री, प्रधानमन्त्री, राजा वा कुनै लाभको पदमा पुगेर मुलुकले अवसर लिन सक्ने होइन रहेछ । उत्पादन प्रक्रिया, कार्यसंस्कृति र आर्थिक क्रियाकलाप विस्तार गरेर नै अवसरको औचित्य सिद्ध हुँदोरहेछ । त्यो गुमेको अवसरका कारण समयले त्यतिबेलाको नेतृत्वलाई निर्मम वैता लगाइदियो । इतिहासमा उनीहरू सुरक्षित र सम्मानित रहेनन् । राष्ट्रिय अवसर गुमाउनेलाई इतिहासले दण्डित गरेको धेरै उदाहरण छन् ।

सन् २०२० पछि जलविद्युतभन्दा सौर्य ऊर्जा सस्तो बन्ने सम्भावना छ । यदि त्यसो भएमा हाम्रा सम्भावना र स्रोतबाट फेरि पनि हामी ठगिने छौं

पञ्चायत आएपछि जन्मेका बालक चालीसको दशकमा जँुगामुठे नौजवान बनिसक्दा पनि आसालाग्दो भविष्य नदेखेपछि सुरक्षित भविष्यको खोजीमा आन्दोलित बन्यो । पञ्चायत गयो र लोकतान्त्रिक (नेपाली कांग्रेस) र वामपन्थी शक्तिलाई तीनै युवाहरूले आफ्नो भविष्य सुरक्षित बनाउने अख्तियारी सुम्पियो । युगले तत्कालीन अवस्थामा त्यो अवसरलाई दोहन गर्न लोकतान्त्रिक शक्तिलाई नेतृत्व र वामशक्तिलाई पहरेदारीको जिम्मेवारी दियो, ताकि ‘राजा–पञ्च–भारदार’बीचको स्वार्थको नेक्ससजस्तै अर्को नेक्सस फेरि बन्न नसकोस् । ऐतिहासिक जिम्मेवारी पूरा गर्न बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई रामशरण महत, महेश आचार्य, प्रवीण दीक्षित, भोला चालिसेहरूको उदारवादी समूहले नीतिशिल्पीको भूमिका निभाएका थिए । दर्शन र अनुभवको सम्मिश्रण भएको यस समूहले नीतिशिल्पकारिता राम्ररी देखाए । भन्ने गरिएको पहिलो पुस्ताको सुधार अभियानले थुप्रै उपलब्धि पनि दियो । गैरराज्य क्षेत्रको सम्भावना, सीप र क्षमताको उपयोग गरी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने थालनी भयो । प्रत्यक्ष बाह््य र आन्तरिक लगानीमार्फत सेवा र उद्योग क्षेत्रले आशालाग्दो स्थिति देखायो । आर्थिक र सामाजिक सूचकहरूमा सुधारको सङ्केत देखिए । तर राजनीतिक खिचातानीले गर्दा सूचना प्रविधि क्षेत्रमा नेपाललाई प्राप्त अवसर उपयोग गर्न सकिएन । सूचना प्रविधि पार्क निर्माणस्थल कहाँ भन्ने विवाद देखियो । विश्वव्यापी बजार भएको नर्सिङ्जस्ता मध्यमस्तरका चिकित्सा जनशक्ति उत्पादनमा पनि हामी अल्मलियौं । नेपाललाई नियालिरहेको छिमेकी मुलुक भारतले नेपालको उदारवादी दर्शनबाट थुप्रै सिक्न सक्यो । हाम्रै नीतिमा हामी अल्मलियौं तर समयको गति र प्रवृत्तिलाई भारतले राम्ररी पक्डियो ।

विश्वका सबैजसो विकासोन्मुख मुलुकहरू विकासको नयाँ ढाँचा आविस्कार गर्न केन्द्रित रहँदा पञ्चायती नेतृत्वले राष्ट्रिय जीवनको तीस वर्ष ख्यालख्यालमा गुमायो

अहिले विश्वका सबै मुलुकमा भारतले उत्पादन गरेका चिकित्सा तथा सूचना प्रविधिका जनशक्ति उपयोगबाट भारत उदीयमान अर्थतन्त्र बन्न सक्यो । केही वर्षअघि बजेट कार्यक्रम पेस गर्ने क्रममा त्यहाँका वित्तमन्त्री चिदाम्वरमले सन् २०४३ मा भारतीय अर्थतन्त्र विश्वको तेस्रो ठूलो बनाउने दशबुँदे रणनीति प्रस्तुत गरे जसलाई नरेन्द्र मोदी परिस्कारसहित कार्यान्वयन गर्दैछन् । तर आर्थिक सुधारको थालनीको आधा दशक नबित्दै नेपाली अर्थतन्त्र गैरआर्थिक कारणबाट ओरालो लाग्न थाल्यो । आर्थिक विषयलाई राजनीतिक तौरबाट सतही हेर्ने बानीले पुँजी र प्रविधि नेपाली अर्थतन्त्रमा हच्किन र दच्किन थाल्यो । अहिले पनि त्यसको ‘आफ्टर सक’ बाँकी छ । परिणामतः लोकतन्त्र प्राप्ति पछिका झण्डै तीन दशक पनि गुमेको अवसर सावित भयो ।

आर्थिक विकास प्राकृतिक स्रोत, मानव साधन (श्रम) र पुँजी एवं प्रविधिको अन्तरक्रियाको नतिजा हो । पुँजी स्थिरतामा रमाउँछ, प्रविधि प्रतिस्पर्धामा अग्रसरता खोज्छ र श्रम क्षणमै नाश हुने र संवेदनशील अनि तरल स्वभावको हुन्छ । द्वन्द्व, अस्थिरता र अविश्वासले पुँजी, प्रविधि र श्रमको अभ्यास हुन सकेन । परिणामतः प्रचुर प्राकृतिक स्रोतको उपयोग हुन सकेन । पर्याप्त सम्भावनाबीच जलविद्युत्, उद्योग र पर्यटनलगायतका सेवा क्षेत्रको उपयोग गरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिएन । मुलुकले राजनैतिक आन्दोलन र द्वन्द्व गर्न जति सिक्योे; विकास, अर्थतन्त्र निर्माण र सम्भावना उपयोगमा त्यति नै चुक्यो । एक दलले अर्कोलाई, एक व्यक्तिले अर्कोमाथि गाली, आलोचना र आरोपमा खर्चिंदा भविष्य निर्माणको अवसर भने गुम्दै गयो ।

अरूको कमजोरी, गल्ती र अयोग्यता देख्ने हामीहरूले आफू सच्चिन, संयमित हुन र आफैंबाट थालनी गर्न असल संस्कृतिको विकास कसरी गर्ने ? राजनीतिबाट होइन, अब समाजशास्त्रीय कोणबाट विश्लेषण गर्नुपर्ने बेला आएको छ

अरुण बनेन, बरु नबनाउन देशव्यापी राजनीतिक आन्दोलन नै भयो । अरुण बनाउन पो आन्दोलन हुनुपथ्र्यो । बनेको भए आर्थिक अवसरको ठूलो ढोका खुल्ने थियो र अरू थुप्रै अवसरका ढोका खुल्ने थिए । अन्य ठूला आयोजनाहरूमा पनि प्राविधिक होइन, सस्तो र क्षणिक तौरले विश्लेषण गरियो । दुई वर्षमा बन्न पर्ने संविधान ६ वर्ष बितेपछि बल्लबल्ल बने पनि सामाजिक सद्भाव र आर्थिक समृद्धिको यात्रा तय गर्ने आधार बनेन, उल्टो जात, धर्म र साम्प्रदायिकता भावनाको बीजारोपण भइरहेको छ । यो अरू विस्तार भएमा समाजमा रहेको सहसम्बन्ध, सद्भाव र सहकार्य (सोसल हार्मोनी) को ‘नेपालीपना’ गुम्ने खतरा छ । कुनै पनि कुरामा गहिरो विश्लेषणबिना रौसिने, हौसिने, बतासिने र समय बितेपछि तड्पिने, प्रताडिने र प्रायश्चित गर्ने बानी राजनीतिकर्मीहरूमा बसिसकेको छ । नकारात्मक सोचले धेरैको मनोवृत्ति कलुषित बन्दैछ । अरूको कमजोरी, गल्ती र अयोग्यता देख्ने हामीहरूले आफू सच्चिन, संयमित हुन र आफैंबाट थालनी गर्न असल संस्कृतिको विकास कसरी गर्ने ? राजनीतिबाट होइन, अब समाजशास्त्रीय कोणबाट विश्लेषण गर्नुपर्ने बेला आएको छ । संविधान बनेपछि राजनैतिक संक्रमणको अन्त भइसकेको छ, संविधानका प्रावधान जेजस्ता भए पनि राजनीतिज्ञहरूले नै राखेका हुन्, जसको कार्यान्वयन नै नभई फेरि उनीहरूबाटै यसलाई अपव्याख्या गर्ने राजनीति गरिएको छ । सर्वसाधारण जनता परिणाम चाहिरहेको छन्, युग उपलब्धि खोजिरहेको छ । निराशा धेरै दिनसम्म रहन दिनुहुन्न, समाज ध्वंशकारी बन्ने खतरा बढ्छ ।

अहिले पनि मुलुकमा धेरै सम्भावना छ । सबैजसो मुलुकहरूले प्राकृतिक स्रोतको अन्धाधुन्ध प्रयोग गरिसक्दा पनि हामीसँग भएको जलस्रोत, वन, भूमि र खानीको उपयोग भएको छैन । जल विद्युतको उपयोग गर्न सकिएमा नेपाल यस क्षेत्रकै रणनीतिक महत्त्वमा देखिने छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समयमा भएका पिडिए र पिटिएले आसाको संकेत गरेको छ । तर ढिला गरे छिमेकीहरू अर्को विकल्पतिर जानेछन् । सन् २०२० पछि जलविद्युतभन्दा सौर्य ऊर्जा सस्तो बन्ने सम्भावना छ । यदि त्यसो भएमा हाम्रा सम्भावना र स्रोतबाट फेरि पनि हामी ठगिने छौं । औद्योगिक विकासका लागि ‘लेबर र लोकेसन’ हाम्रा पक्षमा छन् । उदीयमान छिमेकी अर्थतन्त्रको फाइदा लिने अवसर पनि हामीसँगै छ । उनीहरूले छाडेको ‘स्पेस’ मात्र पूरा गर्न सके पनि मलेसिया र इण्डोनेसियाबीचको सिंगापुरको स्थानमा नेपाल पुग्ने सम्भावना छ । इतिहासमा नै नदेखिएको ‘जनसंख्याको लाभांश’ पनि मुलुकले पाएको छ । कुल जनसंख्यामा आर्थिक रूपले सक्रिय ५७ प्रतिशत छन् । अझै बीस वर्ष युवा बन्ने जनहिस्सा २० प्रतिशत छ । युवाहरू सम्भावना, उत्साह र जोखिम मोल्ने जुझारूहरूको समूह हो ।

उपयोग गर्न नसके कुण्ठा, विद्रोह र विसर्जन पनि उसभित्रै लुकेको छ । विकास साझेदारका सहयोगी हातहरू पनि हाम्रा साथ छन्, तर हाम्रा प्राथमिकता र प्रणालीमा समेट्ने चुनौती छ । नेपाली डायस्पोरा हाम्रै विकासमा परिचालन गर्न सकिने सभावना विस्तार छ । दोस्रो पुस्ताको सुधार यसतर्फ केन्द्रित हुनुपर्दछ । तर फेरि पनि भुल्नु हुन्न–विकासको सूत्र सजिलो हुन्छ, तर अनुशासन चाहि गाह्रो ।

(पूर्वसचिव मैनाली नेपालवाचका स्तम्भकार हुन् । उनलाई ट्विटर ह्याण्डल @mainaligopi भेट्न सकिन्छ । )