मिटरब्याजी श्याम परदेशीविरुद्ध तीन करोडभन्दा धेरै बिगो दाबी गर्दै मुद्दा दायर

काठमाडौं । सर्लाहीका मिटरब्याजी श्यामकृष्ण साह (श्याम परदेशी)विरुद्ध तीन करोडभन्दा धेरै बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । उनी र उनकी पत्नी मञ्जुदेवी साहविरुद्ध तीन करोड २० लाख ९२ हजार ६ सय ५८ रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको हो ।
साह दम्पत्तिलाई प्रतिवादी बनाउँदै केही दिनअघि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सर्लाहीको कबिलासी नगरपालिका–२ स्थायी घर भएका परेदेशीसहित उनको परिवारले ४८ जना सर्वसाधारणलाई एक करोड एक लाख ९२ हजार रूपैयाँ ऋण लगानी गरेका थिए । पछि परदेशीले उनीहरूबाट एक करोड ५३ लाख ३१ हजार रूपैयाँ ब्याज लिएको विभागको दाबी छ ।
विभागका अनुसार परदेशीले आफूसहित श्रीमती, छोराछोरी, बुहारी र ज्वाइँलगायतका नामबाट ऋण लगानी गरेका थिए ।
ब्याज र सावाँसहित अन्य चलअचल सम्पत्ति जोडेर परेदेशीको परिवारविरुद्ध तीन करोड २० लाख ९२ हजार ६ सय ५८ रूपैयाँ बिगो दाबी गरिएको हो ।
परदेशीविरुद्ध ०७६ सालमै सर्लाही प्रहरीमा ठगीलगायतको मुद्दा दर्ता भएको थियो ।
प्रतिक्रिया