NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १० गते

राजनैतिक तटस्थता र प्रतिवद्धताको प्रश्नमा विष्णुहरि बरालको सामाधान

काठमाडौं । जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक अकर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुती परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक र प्रकाशकबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपमहालेखा नियन्त्रक विष्णुहरि बरालले राजनैतिक तटस्थता र प्रतिवद्धताबारे चिरफार गर्नुभएको छ ।

१)के राजनैतिक तटस्थता र प्रतिवद्धता परस्पर विरोधी धारणा हुन ? सार्वजनिक सेवालाई कसरी एकैपटक राजनैतिक रुपमा तटस्थ र प्रतिवद्ध वनाउन सकिएला ? तर्कपूर्ण ढंगले आफ्नो धारणा राख्नुहोस ।

उत्तर
राजनैतिक तटस्थता र प्रतिवद्धता

दलीय विचार, आस्था र प्रभावबाट मुक्त रही निष्पक्ष रुपमा तोकिएको जिम्मेवारी निर्वाह गर्नु राजनैतिक तटस्थता हो भने आफूलाई प्राप्त जिम्मेवारी इमानदारीपुर्वक निर्वाह गर्दै सङ्गठनको लक्ष्य तथा उद्धेश्य प्राप्तिमा मन, वचन र कर्मले समर्पित हुनु राजनैतिक प्रतिवद्धता हो।

राजनैतिक तटस्थता र प्रतिवद्धता एकअर्काको परस्पर विरोधी अवधारणा नभई एकअर्कामा पारस्पारिक सम्वन्ध रहेका विषयहरू हुन। यी दुबैको गन्तव्य सेवा प्रवाह, विकास र शासन व्यवस्थामा निष्ठा, निष्पक्षता, व्यवसायिकता र इमानदारीतालाई आत्मसात् गर्दै राष्ट्रहित र नागरिक समृद्धि हासिल गर्नु हो।

वहुदलीय राजनैतिक प्रणाली अवलम्वन गरेको देशको शासकीय व्यवस्थाको प्रभावकारिता यी दुई विषयको सफल कार्यान्वयनमा निर्भर रहन्छ।यी दुई एकअर्काका परस्पर विरोधी अवधारणा होइनन् भन्ने विषयलाई देहायअनुसार उल्लेख गरिएको छ।
सवाल सार्वजनिक व्यवस्थापनका नवीनतम अवधारणाको, समाधान विष्णुहरि बरालको

– राजनैतिक तटस्थताले सरकार जुनसुकै राजनीतिक दलको भएपनि प्रशासनले आफ्नो जिम्मेवारी निष्ठा र निश्पक्षताको साथ योग्यता र क्षमताअनुसार कसैको दवाव र प्रभावमा नरही निर्भयतापुर्वक कार्यसम्पादन गर्नुपर्दछ भन्ने मान्यता राख्दछ भने राजनैतिक प्रतिवद्धताले यसको पक्षपोषण गरेको हुन्छ।

– राजनैतिक तटस्थता प्रशासनिक संयन्त्रबाट प्रवाह गरिने निष्पक्ष सेवासँग मात्र सम्वन्धित नरही प्रशासनिक संयन्त्रलाई राजनैतिक हस्तक्षेप, आश र त्रासबाट मुक्त राख्नुसँग समेत सम्वन्धित छ ।यो प्रशासनको स्थायित्व र दक्षतासँग जोडिएको विषय हो।यी विषयको सुनिश्चितताको लागि असल राजनैतिक संस्कारको आवश्यक पर्छ।प्रशासनिक संयन्त्रलाई सक्षम, निष्पक्ष र व्यवसायिक बनाउन राजनीतिक प्रतिवद्धता पूर्वशर्त हुन आउँछ।

– राजनैतिक प्रतिवद्धता राजनीतिक दलप्रतिको प्रतिवद्धता होइन यो त संगठनले निर्धारण गरेको लक्ष्य प्राप्ति प्रतिको प्रतिवद्धता हो। छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहप्रतिको प्रतिवद्धता हो।सरकारको नीति कार्यान्वयन प्रतिको प्रतिवद्धता हो।यस्तो प्रतिवद्धताको प्रभावकारी कार्यान्वयनको सुनिश्चितताको लागि राजनैतिक तटस्थता पूर्वशर्त हुन आउँछ ।

– राजनैतिक प्रतिवद्धता शासकीय मूल्यमान्यता तथा लाभांशहरू आम नागरिकसमक्ष पुर्याउने प्रतिवद्धता हो।आफ्नो पेशा, व्यवसाय र कानूनप्रतिको समर्पण हो।मानवीय, व्यवसायिक, संवैधानिक तथा लोकतान्त्रिक मूल्यमान्यताप्रतिको प्रतिवद्धता हो। जहाँ निष्पक्षता, इमानदारिता, समानता, समता, नागरिक सर्वोच्चता, सहभागिता, निष्ठा जस्ता विषयहरू रहन्छन। यस्ता विषयप्रति प्रतिवद्ध रहँदा राजनैतिक तटस्थताको प्राप्ति सुनिश्चित हुन्छ।

– प्रतिवद्धताले गर्ने कामको अठोटलाई जनाउँछ भने राजनैतिक तटस्थताले उक्त काम सम्पादन गर्ने तरिकालाई जनाउँछ।जस्तैः प्रतिवद्धताले निष्पक्ष सेवा प्रवाहप्रतिको प्रतिवद्धतालाई जनाउँछ भने उक्त सेवा प्रवाह गर्दा दलगत आस्थाको आधारमा नभई समानताको आधारमा सबैलाई समान ढंगले सेवा प्रवाह गर्नुले राजनैतिक तटस्थतालाई जनाउँछ।

– तसर्थ यी दुई अवधारणाबीच अन्योन्याश्रित सम्वन्ध रही आएको छ। कुनै एउटा विषयको पूर्ण कार्यान्वयनले अर्को विषय प्राप्तिको आधार तय गरेको हुन्छ।

अर्थिक नीति र व्यवस्थापन परीक्षणबारे सहसचिव टोकराज पाण्डेको जवाफ

सार्वजनिक सेवालाई एकैपटक राजनैतिक रुपमा तटस्थ र प्रतिवद्ध बनाउने उपायहरू

सार्वजनिक सेवालाई एकैपटक राजनैतिक रुपमा तटस्थ र प्रतिवद्ध वनाउन देहायका उपायहरू अवलम्वन गर्नुपर्छ।

– सरकारले योग्यताप्रणालीलाई आत्मसात् गर्ने, कर्मचारीले सरकारलाई तटस्थ विज्ञको रूपमा आवश्यक सल्लाह, सुझाव दिई सहयोग गर्ने,

– राजनीतिले असल राजनैतिक संस्कार र कर्मचारीले व्यवसायिकताको विकास गर्ने,

– सेवाप्रवाह र नागरिकलाई केन्द्रविन्दुमा राखेर लोकतान्त्रिक मूल्यमान्यता अनुरूप सेवा प्रवाह गर्ने प्रणालीको विकास गर्ने,

– राजनीतिले जनमतको दम्भ र प्रशासनले विज्ञताको घमण्ड त्याग्दै सामूहिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने, यी दुबैबीच रहेको ईर्ष्या व्यवस्थापनका लागि रणनीतिक योजना बनाउने,

– प्रशासनलाई राजनैतिक हस्तक्षेपबाट मुक्त राख्ने तथा राजनैतिक नेतृत्व सक्षम, इमानदार, दुरदर्शी र दलीय चस्माको आधारमा व्यवहार नगर्ने प्रवृत्तिको हुनुपर्ने,

– कर्मचारीले राजनैतिक दलको भातृ संगठन जस्तो नभई संविधान, कानून, आचरण तथा पेशागत मूल्यमान्यताको आधारमा सेवा प्रवाह गर्नुपर्ने,

– राजनीति र प्रशासनबीचको स्पष्ट सीमारेखा कोर्दै एक अर्कोमा पारस्पारिक सहयोग, समन्वय र सहकार्य गर्ने संस्कृतिको विकास गर्ने,

– व्यक्ति ड्रिभन कार्यसम्पादन भन्दा पनि सिस्टम ड्रिभन (प्रणाली विकास) कार्यसंस्कृतिको विकास गर्ने,

– तटस्थ सक्षम कर्मचारीतन्त्र (Ideologically Neutral and Functionally Committed) को विकास गर्दै अनुमानयोग्य वृत्तिप्रणाली लागू गर्ने,

– संगठनमा रोल मोडल नेतृत्वको विकास गर्ने,

– दण्ड पुरस्कार प्रणालीलाई प्रभावकारी सेवाप्रवाहसँग आवद्ध गर्ने ।

निष्कर्ष

प्रभावकारी शासन व्यवस्थाका लागि राजनैतिक तटस्थता र प्रतिवद्धता दुबै अपरिहार्य छ।यी दुबैको प्रभावकारी कार्यान्वयनका लागि असल राजनैतिक संस्कार, व्यवसायिक, सक्षम र नैतिकवान कर्मचारीतन्त्र र प्रणालीगत कार्यसम्पादन पूर्वशर्त हुन।उल्लिखित पूर्वशर्तको प्राप्तिले मात्र सेवाप्रवाहमा एकैपटक राजनैतिक तटस्थता र प्रतिवद्धता भित्र्याउन सकिन्छ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

सामाजिक न्याय, यसका उद्धेश्य र सामाजिक न्याय कायम गर्ने उपायहरू

लोक सेवाको प्रश्न : उपमहालेखा नियन्त्रक विष्णुहरि बरालको समाधान