NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम सम्पन्न

काठमाडौं। बागबजारस्थित पद्‍मकन्या क्याम्पसमा ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम बिहीबार समापन गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्डल कलेज तथा हस्पिटल धापसीको संयुक्त आयोजनामा साउन २२ देखि सञ्चालन भएको ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, पद्मकन्या क्याम्पस का प्राध्यापक, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, पत्रकार, ट्राफिक स्वयंसेवक तथा विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख शाहले ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरी एक्लैले नसक्ने र यसमा सरोकारवाला सबैले हातेमालो गर्नु पर्ने बताए ।

उनले ट्राफिक स्वयंसेवक भएर काम गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम अन्तर्गत पद्मकन्या क्याम्पसमा अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थी ट्राफिक स्वंयसेवक भई साउन २२  देखि भदौ ८ सम्म ट्राफिक प्रहरीसँग सडकमा खटिएका थिए ।

कार्यक्रमका बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले नागरिक पनि बिना वर्दीका प्रहरी हुन भन्ने वाक्यलाई अभ्यासमा ल्याएको बताउदै आगामी दिनमा पनि पद्मकन्या क्याम्पसको सामाजिक एवं कार्य विभागको साथ र सहयोगको अपेक्षा रहेको बताइन् ।

ट्राफिक स्वयंसेवक भई खटिएका विद्यार्थीले सडकमा नो हर्न अभियान अन्तर्गत सार्वजनिक तथा निजी सवारी साधनमा स्टिकर टाँस्ने, पैदल यात्रीलाई जेब्राक्रसिङ तथा आकाशेपुल प्रयोग गराउने, चालकलाई ट्राफिक लाईटको पालना गर्न आग्रह गर्ने लगायतका कार्य गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष