NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुखसहित ३१ जनाविरूद्ध मुद्दा दायर

काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित ३१ जनाविरूद्ध विशेष अदालत काठमाडाैंमा मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुख मधु प्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा र खरिदारसमेत ३१ जना उपर मुद्दा दायर गरेको हो ।

अख्तियारमा धनुषाको पिडारी चोकस्थित र रत्नसागर मन्दिरको नामको जग्गासमेत व्यक्तिको नाममा पास गरी सार्वजनिक जग्गा भोगचलन गरेको भन्ने उजुरी परेको थियो । उक्त उजुरीको आधारमा अनुसन्धान गर्दा उनीहरूले भ्रष्टाचार गरेको खुलेको अख्तियारले जनाएको छ ।

गैरकानूनी क्रियाकलापमा संलग्न कर्मचारी, पदाधिकारीहरू एवं सरकारी, सार्वजनिक जग्गा आफ्नो नाममा कायम गराउन कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी नेपाल सरकारलाई प्रत्यक्ष हानी र आफूसमेतलाई प्रत्यक्ष लाभ पुर्‍याउने कार्यमा संलग्नता रहेका अन्य व्यक्ति समेतलाई एनमा उल्लेख गरेअनुसार सजाय हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ ।