NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

ओझेलमा दिदीबहिनी झरना

बागलुङ । बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय भने मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् ।

यिनैमध्येका प्रचारमा आउन नसकेका निसीखोला गाउँपालिका वडा नं ६ मा पर्ने दिदीबहिनी झरना हुन् । उच्च पहाडको चुचुरोको फेदमा रहेका यी झरना मनमोहक छन् । मोराखोलाको शिरमा रहेका यी झरनामा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् ।

एउटै खोलामा बगेको पानीमा चार वटा झरना बनेका छन् । एकै ठाउँमा एउटै खोलमा रहेकाले स्थानीयले यी झरनाको नाम दिदीबहिनी झरना राखेका छन् । शान्त वातावरण र उच्च पहाडी हावापानीमा छन् दिदीबहिनी झरना । झरनासम्म मध्यपहाडी लोकमार्ग हुँदै भल्कोटबाट तीन घण्टा पदैलयात्रा गरेर पुग्न सकिन्छ ।

मोराखोलामा बनेको चार झरनामध्ये सबैभन्दामाथिको जेठी, त्यसभन्दा तल बनेका झरनालाई क्रमशः माइली, साइँली र कान्छी भन्ने गरिएको छ । स्थानीयले सबैको नाम एक मुष्ठरुपमा ‘दिदीबहिनी’ राखेको स्थानीय बताउँछन् । झरना जंगलकाे बीचमा रहेको हुँदा स्थानीयले घाँस दाउरा गर्न जाँदा झरनाको पहिचान गरेका थिए ।

वर्षौँ अगाडि झरनाको पहिचान भए पनि अहिलेसम्म प्रचारप्रसार र विकास भने हुन सकेको छैन । झरनाको फेदमा भल्कोटका स्थानीयले गोठ बनाएका छन् । गोठमा बर्सातको समय सयौँ गाई भैँसी र भेँडा बाख्रा बाँध्ने गरिन्छ ।

चरन क्षेत्रका लागि उपयुक्त यो क्षेत्र वनभोज स्थलका रूपमा पनि निकै उत्कृष्ट मानिन्छ । गोठमा बस्ने गोठालाले यही झरनाको पानी पिउने गर्छन् । यो झरना पैदल यात्रा गर्नका लागि झनै उपयुक्त मानिन्छ । ओझेलमा परेका यी झरनाको गाउँपालिकाले प्रचारप्रसार गर्न थालेको छ ।

त्यहाँ पूर्वाधारसमेत निर्माणका लागि डिपिआरसमेत गरिसकेको छ । पर्यटकलाई झरनासम्म सहजरुपमा पुग्न पदमार्ग र सडकको राम्रो व्यवस्था हुनुपर्ने देखिन्छ । निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले पर्यटक आकर्षित गर्न वडाले पदमार्ग, सडक निर्माण गर्ने बताए।

अध्यक्ष बुढामगरले झरनालाई थप व्यवस्थित बनाउने र त्यस वरपर पार्कसमेत निर्माण गर्ने योजना बनाएको बताए। ‘लामो समयदेखि यो झरना ओझेलमा छ, यसको प्रचारप्रसार र विकासका लागि हामी निर्वाचित भएर आएदेखि निरन्तर लागि रहेका छौँ, योजना बनाइरहेका छौँ,’ सबैभन्दा पहिले पर्यटक झरनासम्म पुग्न पदमार्ग निर्माण र सडक निर्माण गर्नु पर्ने छ’, अध्यक्ष बुढामगरले भने, ‘बिस्तारै त्यस वरपर पार्क निर्माण गर्ने, झरनालाई व्यवस्थित बनाउने योजना बनाएका छौँ आगामी वर्षको बजेटमा यसलाई विशेष प्राथमिकतामा राख्ने छौँ ।

झरना भएको स्थान करिब तीन हजार मिटरको उचाइमा पर्छ । यहाँसम्म पुग्न सडक तथा पदर्माग निर्माण भए हिउँद बर्खा दुवै यामलाई सजिलो हुनेछ । यी झरनालाई बाहिर चिनाउन सकिए हिउँदमा हिउँ खेल्न र बर्सातमा गर्मी छल्न तथा हरियाली मौसमसँग रमाउनका लागि बागलुङ बजार र त्यो भन्दा परबाट पनि पुग्न सजिलो हुने देखिन्छ । (रासस)

 

ताजा अपडेट

नेपालवाच विशेष