उत्पादित आलुको बजार व्यवस्थापन नहुँदा किसान समस्यामा
रुकुमपूर्व । रुकुमपूर्वमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ भने बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी भए पनि अहिलेसम्म एक किलो आलु पनि बिक्री गर्न नसकिएको त्यहाँका किसानले बताएका छन् ।
अहिले उक्त गाउँपालिकाको तक, सेरा, दमचन, घुम्लिबाङ, मयाङ, गर, चारगाउँलगायत अधिकांश ठाउँमा फलेको आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले आफूहरूलाई सताएको वडा-१० निवासी चेबाङ कृषक समूहकी सदस्य सातमाया बुढाले बताए । त्यहाँ चक्लाबन्दी कार्यक्रममार्फत समूहले धेरै आलु उत्पादन गरेपछि बजारमा पठाउन नसक्दा आफूहरू समस्यामा परेको उनले गुनासो गरे । अहिले आलु बजारमा बिक्री नहुँदा र घरमा पनि राख्ने ठाउँ नहुँदा बारीमै प्लाष्टिकले छोपेर राख्नुपर्ने बाध्यता रहेको सदस्य बुढाको भनाइ थियो ।
बर्खाको समय भएका कारण पानी पर्ने भएकाले बारीमै प्लाष्टिकले छोपेर आलु राख्दा पानी परेर कुहिन सक्ने र बारीमै खुलारूपमा राखेको आलुको स्वाद पनि बिग्रने उनले बताए । ‘अहिले पुथा उत्तरगंगा गाउँपालिकाको सबै ठाउँमा आलु खन्ने काम धमाधम चलिरहेको छ ।’ सदस्य बुढाले भने, ‘आलु खनेर बारीमा थुपारेका छौँ, उत्तरगङ्गा नदीमा पुल नहुँदा पनि हामीले यहाँ उत्पादन गरेको आलु जिल्ला सदरमुकाम रहेको रुकुमकोटको बजारसम्म पु-याउन पनि सकेका छैनौँ ।’ उत्तरगंगा नदीमा पुल नहुँदा सवारी साधन वारपार गर्न नसक्ने र तकसम्म गाडी जान नसक्दा र आफूहरुले आलु बोकेर उत्तरगंगा नदी पार गर्न नसक्दा आलु घर तथा बारीमै थन्क्याएर राख्नुपरेको छ ।
यस्तै गाउँपालिकाको ११ नं वडा दमचनका नमूना कृषक समूहका सचिव हृदय बुढाले दमचनमा उत्पादन भएको आलुले बजार नपाएको गुनासो गरे । दुःख गरेर गाउँवासीले लगाएको आलु बजारमा पु-याउन नसक्दा कतिपयको आलु कुहिन सुरु गरेको उनको भनाइ थियो । उत्पादित आलुको मूल्य पनि आफूहरूले भनेजस्तो नभएको सचिव बुढाले बताए । अहिले बजारमा आलुको मूल्य प्रतिकिलो एक सय रूपैयाँ रहेको र आफूहरूले पनि आलु घरबाटै रु एक सयमा बेच्न खोज्दा ढुवानी खर्च पनि नउठ्ने पीडा सुनाए ।
भूमे गाउँपालिका–९ का किसान धनबहादुर ओलीले पनि आफूले उत्पादन गरेको आलुले बजार नपाएको गुनासो गरे । आफूले उत्पादन गरेको र गाउँका अन्य मानिसले उत्पादन गरेको सबै आलु घरमै थन्क्याएर राख्दा आलु कुहिन थालेको उनको भनाइ थियो । आलु कुहिन सुरु गरेको र बजार व्यवस्थापनको सुरसार केही नदेख्दा किसानमा निराशा छाएको किसान ओलीले बताए ।
यस्तै आलु ब्लक कार्यक्रम सञ्चालन भएको भूमे गाउँपालिकाको ७ नं वडामा उत्पादित आलु पनि घरमै थन्किएको छ । बीउ अभावका बेलामा खोजीखोजी लगाएको आलको उत्पादन राम्रो भए पनि बजारमा पु(याउन नसक्दा विगतका वर्षहरू नै आफ्नो उत्पादन खेर गइरहेको किसानले बताउँदै आएका छन् । जिल्लामा कतै पनि सङ्कलन केन्द्र नहुँदा उत्पादनलाई पनि व्यवस्थितरूपमा राख्न नसकिएको उनीहरुले बताए ।
एकीकृत कृषि तथा पशुपक्षी विकासरुकुमपूर्वको कार्यालयका प्रमुख पिताम्बर बस्नेतले आलुको बजार व्यवस्थापनमा भौगोलिक विकटताले केही समस्या भए तापनि किसानले मूल्य निर्धारण गर्न नसक्दा समस्या भएको बताए । किसानले आफूले उत्पादन गरेको आलुको मूल्य बजारको मूल्यभन्दा चर्को भन्ने गरेका कारण पनि त्यहाँको आलु बजारसम्म पुग्न नसेको उनको भनाइ थियो ।
प्रतिक्रिया