NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चितुवाको मुखबाट उम्किएका बालकको सफल शल्यक्रिया

चितवन । चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । चितुवाले च्यापेर उनीलाई लग्दै गरेको अवस्थामा उनकी आमा लक्ष्मी परियारले बचाएकी थिइएन् ।

गम्भीर घाइते सुलभलाई स्थानीय स्वास्थ्य सस्थामा प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज ल्याइएको थियो । बालकको थप उपचारका लागि पत्रकार सुवास पण्डितले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । उनका अनुसार तत्काल कलेजमा शल्यक्रिया गरी उपचार अगाडि बढेकोले बालकको जीवन रक्षा भएको हो । उनले भने, ‘हामीले चितवन मेडिकल कलेजका जिम्मेवार व्यक्तिलाई फोन गरेर बालकको उपचारमा सहयोग गर्न आग्रह गरेका थियाैँ । ’

अस्पतालका निर्देशक डा दयाराम लम्सालले बालकको सफल शल्यक्रियापछि हाल अवस्था सुधार हुँदै गएको जानकारी दिए । बालकको घाँटीमा गम्भीर चोट लागेको थियो । ‘श्वासनली र रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका कारण बालकलाई बचाउन सकिएको हो’ उनल
भने, ‘चितुवाको आक्रमणबाट बालकको आँखा, नाक, मुखजस्ता महत्वपूर्ण अंग क्षति हुनबाट जोगिएको रहेछ , श्वासनली र घाँटी हुँदै रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका कारण शल्यक्रिया सफल भएको हो ।’

अस्पतालमा कार्यरत चिकित्सक त्रय सुरेशराज शर्मा, सुमित अधिकारी र नवीनकृष्ण यादव शल्यक्रियामा सम्लग्न थिए । उनीहरुका अनुसार बालकको घाँटीमा मल्टिपलपञ्चर (ठाउँ–ठाउँमा गहिरो चोट परेको र मासुसमेत च्यातिएको) थियो । देव्रे कान र अनुहारमा समेत चोट रहेका कारण टाँका लगाइएको छ भने घाँटीको शल्यक्रिया गरिएको छ ।

बालकका बाबु सुवास परियारले शल्यक्रिया सफल भएकामा खुशी व्यक्त गरे । उनका अनुसार गत बुधबार साँझ ५ः३० बजेको समयमा आँगनमा खेलिरहेका सुलभलाई चितुवाले लगेको थियो । घरभित्र र पिँढीमा घरका अन्य सदस्य भइरहेको समयमा चितुवाले लगेको उनको भनाइ छ ।

चितुवाले ५० मिटर माथिसम्म पुर्‍याएको थियो । आमालगायतका परिवारका सदस्यले हारगुहार गरेपछि चितुवा बालकलाई छाडेर भागेको सुवासले बताए ।अस्पतालले बालकको निःशुल्क शल्यक्रिया गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार औषधिलगायत अन्य लागत शुल्कमात्रै लिइएको छ । बच्चालाई सघन उपचारकक्षबाट साधारणकक्षमा सारिएको छ । (रासस)

साहसी आमा, जसले चितुवाको मुखबाट छोरा खोसिन् !