NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नागरिकता विधेयक प्रतिपक्षी दलका नेतासँग सल्लाह गरेरै ल्याइएको हो : गृहमन्त्री खाँण

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाह गरेरै ल्याइएको बताएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा उनले सो बताएका हुन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा गृहमन्त्री खाँणले सबै दलहरूको सहमतिमा विधेयक ल्याइएएको स्पष्ट पारे ।

उनले भने, ‘नागरिकता विधेयक प्रतिपक्षी दलका नेतासँग पनि छलफल गरेर तत्कालीन सरकारले २०७५ सालमा ल्याएको विधेयक र २०७८ मा जारी गरिएको अध्यादेशको भावनामा सल्लाहमै, प्रक्रियामा सहमति भएरै अघि बढेको हो ।’

यसअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट विधेयक पारित गर्ने क्रममा ओलीसँगको सहमतिअनुसार नै एमालेले मौन समर्थन गरेको पनि गृहमन्त्री खाँणको भनाइ थियो । ‘प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिपक्षीले पारित गर्ने क्रममा मौन समर्थन जनाएकै हो । सांसदहरूका संशोधन र धारणाहरू थिए तर पारित भएर गएको हो,’ उनले भने ।

उक्त विधेयक गत साउन ६ गते संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकामा राष्ट्रपतिबाट साउन २९ गते आठबुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता भएको थियो ।