NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सुटुक्क स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय

काठमाडौं (एजेन्सी) । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्ष सुटुक्क स्वदेश फर्किएका छन् । उनी पहिले थाइल्याण्डमा अस्थायी भिसा लिएर बस्दै आएका थिए र त्यसपछि सिंगापुर गएका थिए ।

श्रीलंकाका केही मन्त्रीहरूले उनलाई विमानस्थलमा भेटेको बिबिसी हिन्दीकाे समाचारमा उल्लेख छ ।

श्रीलंकामा कमजोर आर्थिक अवस्था र बढ्दो मुद्रास्फीतिलाई लिएर यस वर्षको जुलाईमा कडा विरोध प्रदर्शन भएका थिए । श्रीलंकामा पेट्रोल र खाद्यवस्तुको अभाव थियो र सामानको मूल्य अत्यधिक बढेको थियो।

जनताले देशको यस्तो अवस्थाका लागि गोटाबाय सरकारलाई जिम्मेवार ठहर्याउँदै गत वैशाखदेखि विरोध गर्दै आएका थिए ।

विरोध प्रदर्शन यति उग्र बनेको थियो कि गोटावाय राजापाक्षको राजीनामा माग गर्दै प्रदर्शनकारीहरू राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेका थिए। उनीहरुले प्रधानमन्त्रीको निजी निवासमा आगजनी गरेका छन् ।

यसपछि गोटावाय सैन्य विमानबाट देश छाडेर माल्दिभ्स र त्यसपछि सिंगापुर पुगेका थिए। त्यहीँबाट उनले राजीनामा पठाएका थिए । उनी पछि रनिल विक्रमासिंघे श्रीलंकाको राष्ट्रपति बनेका छन्।

गोटाबाया राजपाक्षको फिर्तीले पुनः विवाद सिर्जना हुनसक्ने चिन्ता व्यक्त भएका छन् ।

प्रदर्शनकारीहरूका प्रमुख नेता फादर जीवन्था पेरिसले बीबीसीलाई भनेका छन्, ‘हामी राजापाक्षको आगमनको विरोध गर्दैनौं। कुनै पनि श्रीलंकाली नागरिक स्वदेश फर्कन सक्छन्। उनको सरकारको भ्रष्टाचारको आरोपमा जनता सडकमा उत्रिए । उहाँहरुसँग हाम्रो व्यक्तिगत शत्रुता छैन ।’

राजपाक्षको राजनीति वा सरकारमा पुनः सामेल हुने प्रयासको भने विरोध गरिरहने प्रदर्शनकारीको भनाइ छ ।

श्रीलंकाली सञ्चारमाध्यमले गोटाबाय राजपाक्षलाई सरकारले मध्य कोलम्बियाको एउटा घरमा राख्न सक्ने प्रक्षेपण गरेका छन् । तर उनी सिधै घर जाने वा पहिले सुरक्षित सैन्य आधारमा जाने भन्ने स्पष्ट छैन।

रक्षा मन्त्रालयका प्रवक्ताले गोटाबायलाई पूर्वराष्ट्रपतिको रूपमा सुरक्षा दिने बताएका छन् ।