NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

जनार्दनलाई दीपशिखाको चुनौती : कमाण्डरको सार्वजनिक बदख्वाइँ गरेर मोर्चा जितिन्न

काठमाडौं । माओवादी केन्द्रका पोटिब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले प्रचण्डबिना नेपाली राजनीतिको पात पनि नहल्लिने बताएका छन् ।

बुधबार अध्यक्ष प्रचण्डमाथि संगठन विभाग प्रमुख जनार्दन शर्माले सार्वजनिक रूपमा बदख्वाइँ गरेपछि उनले त्यसको प्रतिवादस्वरूप यस्तो प्रतिक्रिया जनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्ट्याटस लेख्दै दीपशिखाले चुपचाप कमाण्डरको आदेश मानेर सम्पूर्ण शक्ति चुनावी मोर्चामा लगाउन आग्रह गरे । उनले पुरानो नेपाली उक्ति ‘तलाई हेर, मलाई हेर, बखत हेर’ मार्फत शर्मालाई बेला, अवस्थाको ख्याल गर्न सुझाएका छन् ।

‘सम्पूर्ण शक्ति लगाएर एकीकृत रूपमा चुनावी मोर्चा लड्न कमाण्डरको आदेश निःसन्देश मान्नुपर्छ,’ आजको अवस्थामा प्रचण्डबिना नेपाली राजनीतिको पात पनि हल्लदैन । कमाण्डरको सार्वजनिक बदख्वाइँ गरेर मोर्चा जितिन्न ।’

चुनावको मुखमा शीर्ष नेताबीच देखिएको मतभेदका कारण माओवादी फेरि विभाजनतिर जाने हो कि भन्नेमा कार्यकर्ताहरू निराश देखिएका छन् । गत हप्ता चुनावी कार्यक्रममा कर्णाली पुगेका प्रचण्डले पार्टीभित्र देखिएका गुट–उपगुटले समस्या देखिएको टिप्पणी गरेका थिए ।

नेताको आग्रहमा आफू कर्णाली नआएको भन्दै कार्यकर्ताको आग्रहमा आएको अभिव्यक्ति दिएका थिए । कर्णालीमै पुगेर प्रचण्डले आफूमाथि आक्षेप लाग्ने गरी अभिव्यक्ति दिएपछि शर्मा थप चिडिएका थिए ।